
३१ असार,धनकुटा । धनकुटा नगरपालिका–८, टेकुनालास्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ।
नेवा सृजनशील महिला समूह, धनकुटा–७ को आयोजनामा सम्पन्न शिविरमा विद्यालयका ३५ जना विद्यार्थीसहित ८० जनाको दन्त परीक्षण गरिएको आयोजकले जनाएको छ। शिविरमा विद्यार्थीका साथै शिक्षक तथा विद्यालयका कर्मचारीहरूको पनि दाँत तथा मुख स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा सहभागी विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्रीसमेत वितरण गरिएको आयोजकले जनाएको छ । दन्त परीक्षण धनकुटा डेन्टल क्लिनिक, धनकुटा–७, हुलाकटोलको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा धनकुटा नगरपालिका–८ का वडा अध्यक्ष रसबहादुर राई प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुगबहादुर राई, विद्यालयका प्रधानाध्यापक शुक्र राई लगायतको उपस्थिति रहेको थियो।
नेवा सृजनशील महिला समूहकी अध्यक्ष विनु जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष जोशीले विद्यार्थीमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा नियमित मुख स्वास्थ्य परीक्षणको संस्कार विकास गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताइन्। शिविरमा दन्त चिकित्सकको टोलीले दाँतको नियमित सरसफाइ, मुखको स्वास्थ्य संरक्षण तथा समयमै उपचार गराउनुपर्ने विषयमा सहभागीलाई जानकारीसमेत दिएको दिपिका शाक्यले जानकारी दिईन । विद्यालय परिवारले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले विद्यार्थीको स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

