११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

Radio Khabar Palika

नेपाल पत्रकार महासंघ धनकुटाको १३औँ वार्षिक साधारणसभा जौटारमा सम्पन्न



११ जेठ,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १३औँ वार्षिक साधारणसभा धनकुटाको पाख्रिबास नगरपालिका जौटारमा सम्पन्न भएको छ।

पत्रकारिता, स्थानीय सरकार, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न साधारणसभामा सञ्चार क्षेत्रको सुदृढीकरण, पत्रकारको क्षमता विकास तथा स्थानीय क्षेत्रको प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा पाख्रिबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महालक्ष्मी नगरपालिकाका पूर्व नगरप्रमुख पर्शुराम नेपाल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, नेकपा धनकुटाका संयोजक कुसुम श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव अरविन्द मेहता, पूर्व केन्द्रीय सदस्य सरिता बराइली, भीषण राई, महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई तथा पूर्व अध्यक्षहरू विजय सन्तोषी राई, खगेन्द्र प्रसाद घिमिरे र राजेश्वरबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। साथै सल्लाहकारहरू सिद्धराज राई, सन्तवीर लामा, भेषराज कटेल, सन्तोष रुचाल, विनोद घिमिरे, उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ तथा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सुमना तिम्सिनालगायतको सहभागिता रहेको थियो।

महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न साधारणसभाले सचिव हरिबहादुर लम्जेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नारायणकुमार राईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको आयोजकले जनाएको छ। यसैबीच, नेपाल पत्रकार महासंघ धनकुटाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सञ्चालन भइरहेको मोबाइल पत्रकारिता -मोजो- तथा मल्टिमिडिया तालिम अन्तर्गत सहभागी पत्रकारहरूलाई दोस्रो दिनको प्रयोगात्मक अभ्यासका लागि जौटार ल्याइएको थियो। कार्यक्रममा सहभागीहरूका लागि वनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ज्ञानबहादुर गुरुङले पत्रकारहरूको क्षमता अभिवृद्धिमा नगरपालिका सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा अध्यक्ष खवासले जौटार क्षेत्रको विकास, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले वार्षिक साधारणसभा, तालिमको प्रयोगात्मक अभ्यास र वनभोजलाई एकीकृत रूपमा आयोजना गरिएको जानकारी दिए। उनले पत्रकारिता गतिविधिलाई स्थानीय पर्यटन र समुदायसँग जोड्ने अभ्यास आगामी दिनमा पनि निरन्तर गरिने बताए।