७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

Radio Khabar Palika

मकैबालीमा पुतली–लार्भा प्रकोप नियन्त्रण गर्न छथर जोरपाटी गाउँपालिकाद्वारा विषादी वितरण



७ जेठ, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले मकैबालीमा देखिएको पुतली तथा लार्भाको प्रकोप नियन्त्रण गर्न किसानलाई विषादी वितरण गरेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा फैलिएको किराको समस्या नियन्त्रण गर्ने उद्देश्यले वडा नम्बर ४ तेलियामा किसान भेला आयोजना गरी विषादी वितरण गरिएको हो।तेलियामा आयोजित कार्यक्रममा ओख्रे, गुठ, पाथिभरा, पिप्ले, कर्कले र मार्से क्षेत्रका २ सय १५ जना किसानलाई पुतली तथा लार्भा नष्ट गर्ने विषादी उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर घिसिङका अनुसार किसानहरूको २० प्रतिशत लागत सहभागितामा मकैको बिरुवाको गुभोमा लाग्ने पुतली तथा लार्भा नियन्त्रणका लागि “किङस्टार” र “सुपर किलर” नामक विषादी वितरण गरिएको हो। वडाभित्र रहेका सबै मकै उत्पादक किसानलाई क्रमशः विषादी उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए। मकैबालीमा देखिएको उक्त किरालाई स्थानीय किसानले “फौजी किरा” भनेर समेत चिन्ने गरेका छन्।

यसले मकैको कलिलो गुभोमा क्षति पुर्‍याउने, बिरुवाको भित्री भाग खाने तथा उत्पादन र गुणस्तरमा असर गर्ने गरेको किसानहरूको गुनासो छ। स्थानीय किसान छगेन्द्रप्रसाद पराजुलीका अनुसार पछिल्लो समय पुतलीले गुभोमा फुल पार्ने र त्यसबाट निस्कने लार्भाले बिरुवाभित्रै क्षति पुर्‍याउने समस्या बढ्दै गएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले किसानको मुख्य खाद्य तथा नगदेबालीका रूपमा रहेको मकै खेती जोगाउन गाउँपालिकाले नियन्त्रणका उपाय अघि बढाएको बताए। उनले किराको प्रकोप थप फैलिन नदिन कृषि प्राविधिकको सल्लाहअनुसार मात्र विषादी प्रयोग गर्न किसानलाई आग्रह गरे। यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। गाउँपालिकाले आगामी दिनमा पनि कृषिमा देखिने रोग तथा किराको समस्या समाधानका लागि किसानसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।