- Dhankuta Multiple Campus का क्याम्पस प्रमुख Hom Bahadur Basnet ले फेसबुकमार्फत क्याम्पसको भौतिक, शैक्षिक तथा प्रशासनिक प्रगतिबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्।
- क्याम्पसमा हाल करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् भने स्नातक र स्नातकोत्तर तहअन्तर्गत ४ सङ्कायमा ५२५ विषय अध्यापन भइरहेको जनाइएको छ। ३ छात्रावास भवन, ३० कक्षा कोठा, नयाँ प्रशासनिक भवन, ई–लाइब्रेरी, प्रोजेक्टर र सिसी क्यामेरा जडानलगायत पूर्वाधार विस्तार गरिएको उल्लेख छ।
- क्याम्पसले १० वर्षदेखि ई–हाजिरी, नगदरहित आर्थिक प्रणाली तथा सफ्टवेयरमार्फत प्रशासनिक सेवा सञ्चालन गर्दै आएको जनाएको छ। साथै “रूपान्तरण” र “चिन्तन धारा” जर्नल प्रकाशन, लघु अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक सहकार्यात्मक अनुसन्धान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ।
- क्याम्पसले लगातार ७ वर्ष शून्य बेरुजु कायम गरेको, पाँच वर्षे रणनीतिक योजना कार्यान्वयन गरिरहेको तथा नयाँ शैक्षिक भवन, महिला छात्रावास, बास्केटबल कोर्ट र पुराना भवन मर्मतका लागि डीपीआर तयार गरी बजेट माग गरिएको क्याम्पस प्रमुख बस्नेतले बताएका छन्।

३१ बैशाख,धनकुटा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होम बहादुर बस्नेतले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गतिविधि तथा प्रशासनिक सुधारसम्बन्धी विस्तृत जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। वि.सं. २०१२ साल साउन १४ गते स्थापना भएको क्याम्पसमा हाल करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरिएको छ। क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा ४ वटा सङ्कायअन्तर्गत ५२५ विषय अध्यापन भइरहेको जनाइएको छ।

क्याम्पस प्रमुख बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको विबरण अनुसार धनकुटा नगरपालिका–६ मा रहेको क्याम्पसको क्षेत्रफल २१० रोपनी छ भने ३० वटा कक्षा कोठा सञ्चालनमा छन्। हाल क्याम्पसमा ३ वटा छात्रावास भवनमार्फत १२५ विद्यार्थीलाई आवास सुविधा उपलब्ध गराइएको छ। साथै ४० जना प्राध्यापक तथा कर्मचारीका लागि आवास व्यवस्था रहेको जानकारी दिइएको छ। क्याम्पसमा १७ कोठे नयाँ प्रशासनिक भवन सञ्चालनमा आएको, ई–लाइब्रेरी स्थापना गरिएको तथा १८ कम्प्युटरमध्ये १० वटा मर्मत आवश्यक रहेको उल्लेख गरिएको छ। कक्षा कोठामा ९ वटा प्रोजेक्टर जडान गरिएको तथा सेवा क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको जानकारी पनि सार्वजनिक गरिएको छ। शिक्षण भवनमा हाल १६ वटा शौचालय सञ्चालनमा रहेको र थप ४ वटा नयाँ शौचालय निर्माणको चरणमा रहेको जनाइएको छ। चालु आर्थिक वर्षमा ४ कोठे शौचालय तथा भृकुटी महिला छात्रावास जाने पुल निर्माण गरिने तयारीसमेत रहेको उल्लेख छ। क्याम्पसले विगत १० वर्षदेखि ई–हाजिरी प्रणाली सञ्चालन गर्दै आएको तथा नगदरहित केन्द्रीय आर्थिक प्रणाली र सफ्टवेयरमार्फत प्रशासनिक सेवा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख बस्नेतले बताएका छन्। शैक्षिक तथा अनुसन्धान गतिविधिअन्तर्गत “रूपान्तरण” र “चिन्तन धारा” नामक जर्नल प्रकाशन, प्राध्यापकका लागि १० वटा लघु अनुसन्धान, विद्यार्थी अनुसन्धानमा सहयोग तथा प्राध्यापक–विद्यार्थी सहकार्यात्मक अनुसन्धान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ।
त्यसैगरी क्याम्पसले पाँच वर्षे रणनीतिक योजना कार्यान्वयन गरिरहेको, लगातार ७ वर्षदेखि शून्य बेरुजु कायम गरेको तथा दुई पटक लगातार स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सर्वसम्मत भएको उल्लेख गरिएको छ। क्याम्पस प्रमुख बस्नेतका अनुसार झापामा क्याम्पसको १०० बिगाहा जग्गाबाट वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी भइरहेको छ। साथै नयाँ शैक्षिक तथा प्रशासनिक भवन निर्माण, महिला छात्रावास भवन, बास्केटबल कोर्ट निर्माण तथा पुराना भवन मर्मतका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी बजेट माग गरिएको जानकारी पनि दिइएको छ। क्याम्पसमा प्रत्येक वर्ष स्थापना दिवस मनाइने, उत्कृष्ट प्राध्यापक तथा कर्मचारी सम्मान कार्यक्रम सञ्चालन गरिने तथा अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन हुने जानकारीसमेत सार्वजनिक गरिएको छ।

