
२५ बैशाख, धनकुटा । धनकुटामा रहेको हिले क्याम्पस ले अनुसन्धान तथा शैक्षिक प्रकाशन प्रवद्र्धन गर्ने उद्देश्यसहित “अनुसन्धान लेख लेखन तथा जर्नल प्रकाशन” सम्बन्धी अनुसन्धानमूलक तालिम सुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध सामुदायिक क्याम्पसका रूपमा रहेको हिले क्याम्पसद्वारा आयोजित उक्त तीन दिने तालिममा अनुसन्धान लेखन, शैक्षिक लेख तयार गर्ने विधि, अनुसन्धानको संरचना, सन्दर्भ व्यवस्थापन, जर्नल छनोट तथा प्रकाशन प्रक्रियाका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिने क्याम्पस प्रमुख प्रदिप फुयल ले जानकारी दिनुभयो। तालिममार्फत गुणस्तरीय अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशनका लागि आवश्यक सीप र ज्ञान प्रदान गरिने क्याम्पस प्रमुख फुयलले जानकारी दिनुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाका निर्देशक कृष्ण प्रसाद पोखरेलले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृतिको विकास, शैक्षिक क्षमता अभिवृद्धि तथा ज्ञान उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । “अनुसन्धानमा सशक्तता, प्रकाशनमा प्रगति” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा अनुसन्धानमैत्री वातावरण निर्माणमा जोड दिइएको थियो । कार्यक्रमका वक्ताहरूले अनुसन्धानलाई व्यवहारिक तथा प्रभावकारी बनाउन नियमित लेखन, सहकार्य तथा प्रकाशन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखेका थिए । क्याम्पसले आगामी दिनमा पनि अनुसन्धान, नवप्रवर्तन तथा शैक्षिक उत्कृष्टतालाई केन्द्रमा राखेर यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । तालिममा कोशी प्रदेश भीत्रका विभिन्न क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।

