
१६ चैत्र, धनकुटा । धनकुटामा आउँदो चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष जिल्लाबाट कुल २ हजार ६ सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका अनुसार नियमित साधारण धार, साधारण ग्रेड वृद्धि, नियमित प्राविधिक तथा प्राविधिक ग्रेड वृद्धितर्फका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। तीमध्ये नियमित साधारण धारतर्फ २ हजार ८५ जना, साधारण ग्रेड वृद्धितर्फ ४ सय ४५ जना रहेका छन्। यस्तै नियमित प्राविधिक धारतर्फ १०४ जना विद्यार्थी सहभागी हुनेछन् भने प्राविधिक ग्रेड वृद्धितर्फ २ जना मात्रै छन्। गत वर्ष धनकुटाबाट २ हजार ५ सय ३६ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या सामान्य वृद्धि भए पनि नियमिततर्फको सहभागिता भने क्रमशः घट्दै गएको इकाईले जनाएको छ।परीक्षा सञ्चालनका लागि जिल्लामा ११ वटा केन्द्र तोकिएका छन्। साँगुरीगढी गाउँपालिकाको पुण्य मावि राजारानी र ग्रामीण जनता मावि नाम्जे, सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि आँखीसल्ला, पाख्रीबास नगरपालिकाको जाल्पादेवी मावि, छथर जोरपाटी गाउँपालिकाको सरस्वती मावि सिधुवा, महालक्ष्मी नगरपालिकाको जनता मावि जितपुर र सरस्वती मावि चानुवा परीक्षा केन्द्र तोकिएका छन्। त्यसैगरी धनकुटा नगरपालिकाभित्र हिले मावि, भाषा मावि कागते, गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार र चुलिबनस्थित त्रिवेणी माविमा पनि परीक्षा सञ्चालन हुनेछ।
११ वटा केन्द्रमध्ये ठाकुरदेवी मावि केन्द्रमा सबैभन्दा बढी ३०८ जना विद्यार्थी सहभागी हुनेछन् भने सरस्वती मावि चानुवामा सबैभन्दा कम ९९ जना मात्रै छन्। नियमिततर्फ सबैभन्दा कम विद्यार्थी छथर जोरपाटी–३ स्थित दामोदर माध्यमिक विद्यालयका ६ जना रहेका छन्। विद्यालयगत रूपमा भने गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयबाट सबैभन्दा बढी १०१ जना विद्यार्थी सहभागी हुनेछन्।
धनकुटाका ६ वटा स्थानीय तहमा प्राविधिक धारअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययन सञ्चालन हुँदै आएको छ। महालक्ष्मी नगरपालिकाको जनता मावि जितपुरमा पशु विज्ञान, छथर जोरपाटीको चुलाचुली माविमा कृषि, चौबिसे गाउँपालिकाको शारदा माविमा सिभिल इन्जिनियरिङ, साँगुरीगढीको भानु मावि डाँडाबजारमा इलेक्ट्रिकल इन्जिनियरिङ, सहिदभूमिको पञ्चकृष्ण मावि खोकुमा कृषि विज्ञान तथा धनकुटा नगरपालिकाको त्रिवेणी माविमा कम्प्युटर विज्ञान विषय अध्यापन हुँदै आएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख इन्दिरा खड्का बुढाथोकीले जानकारी दिईन ।










