१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

Radio Khabar Palika

नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिँदै, १६ हजारको मृत्यु



१० चैत,धनकुटा । नेपालमा क्षयरोग ९टिबी० अझै गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको देखिएको छ। विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने करिब १६ हजार जनाको यसै रोगका कारण मृत्यु हुने गरेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाद्वारा विश्व क्षयरोग दिवस को अवसरमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार कुल संक्रमितमध्ये ३९ हजार १ सय ५१ जनामा मात्रै रोग पहिचान हुने गरेको छ। बाँकी २७ हजार ८ सय ४९ जना बिरामी उपचारको पहुँच बाहिर रहने गरेका छन्। प्रदेशगत रूपमा मधेस र बागमती प्रदेशमा क्षयरोगका बिरामीको संख्या सबैभन्दा बढी रहेको छ। देशभर ६ हजारभन्दा बढी डटस केन्द्र सञ्चालनमा छन् र आधुनिक परीक्षण प्रविधिको प्रयोग विस्तार हुँदै गएको छ। हावाबाट सर्ने यो रोग विशेषगरी मधुमेह, एचआईभी, क्यान्सर तथा मृगौला प्रत्यारोपण गरेका जस्ता कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा छिटो सर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। कार्यक्रममा धनकुटामा हाल ६८ जना क्षयरोगी रहेको जानकारी दिइएको छ। एक वर्षको अवधिमा जिल्लामा ६८ नयाँ बिरामी फेला परेका छन्, जसमा ६६ जना पुरुष र २१ जना महिला रहेका छन्।स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा ५३८ जनामा परीक्षण गर्ने लक्ष्य राखे पनि हालसम्म २०३ जनाको मात्र परीक्षण गरिएको छ। तीमध्ये ८७ जनामा संक्रमण पुष्टि भएको छ।