
२९ फागुन,धनकुटा । साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारका क्रममा निधन भएको छ। आन्द्रामा क्यान्सर देखिएपछि लामो समयदेखि उपचाररत रहेका ५५ वर्षीय लिम्बूको भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि क्यान्सर उपचारका लागि भारतमा रहेका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी निरन्तर उपचारमा थिए। लामो समयदेखि उपचाररत रहनुपरेपछि उनले वडा सदस्य केशर लिम्बूलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए। गाउँपालिकाले लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू स्थानीय तहको विकास, सेवा प्रवाह तथा समुदायका समस्याको समाधानमा निरन्तर लागिपरेका व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनले साँगुरीगढी गाउँपालिका–३ मात्र होइन, समग्र गाउँपालिकालाई नै अपूरणीय क्षति पुगेको अध्यक्ष राईले बताएका छन्। पारिवारिक स्रोतका अनुसार लिम्बूको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ।







