२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

Radio Khabar Palika

धनकुटामा एमालेका राजेन्द्र राईको जितको ह्याट्रिक




२३ फागुन,धनकुटा । नेकपा एमालेका राजेन्द्र राईले धनकुटामा लगातार तेस्रो पटक जित हासिल गर्दै प्रतिनिधिसभा निर्वाचनमा जितको ह्याट्रिक गरेका छन्। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले १८ हजार १३२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन्। यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राई ११ हजार ९३२ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ९ हजार ९४४ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले एक हजार ६६५ मत प्राप्त गरेका छन्।


यो राजेन्द्र राईको चौथो संसदीय प्रतिस्पर्धा हो भने तेस्रो जित हो। यसअघि उनी २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा–२ बाट उम्मेदवार बनेका थिए तर पराजित भएका थिए। त्यसपछि उनले नेकपा एमालेबाट २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर दुवै पटक विजय हासिल गरेका थिए।
यस पटकको जितसँगै उनले प्रतिनिधिसभा निर्वाचनमा लगातार तेस्रो पटक जित निकाल्दै ह्याट्रिक पूरा गरेका छन्। राई यसअघि दुई पटक मन्त्रीसमेत भइसकेका छन्।