६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

Radio Khabar Palika

अल नेपाल होमियोप्याथिक एसोसिएसनको ७५औं वार्षिक साधारणसभा तथा हिरक जयन्ती धनकुटामा सम्पन्न



धनकुटा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको ७५औं वार्षिक साधारणसभा तथा हिरक जयन्ती धनकुटामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रदेश सांसद एवं पूर्व अर्थराज्यमन्त्री निरन राईले गरेका छन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद निरन राईले होमियोप्याथिक उपचार विधिको महत्व उजागर गर्दै यसले आम नागरिकको स्वास्थ्य सेवामा पहुँचलाई सुलभ बनाउने उल्लेख गरे। उनले संस्थाको ७५ वर्षको योगदानको प्रशंसा गर्दै आगामी दिनमा होमियोप्याथिक क्षेत्रको विकासमा सरकारको नीतिगत सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष खगेन्द्र कटवालले एसोसिएसनले विगत सात दशकभन्दा लामो समयदेखि देशभर होमियोप्याथिक सेवाको विस्तार गर्दै नागरिक स्वास्थ्य सुधारमा खेलेको भूमिकाबारे जानकारी गराए । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले यस प्रकारका कार्यक्रमले स्वास्थ्य क्षेत्रमा समर्पित संस्था र सरोकारवालाबीच सहकार्यको वातावरण सिर्जना गर्ने बताए । कार्यक्रममा पूर्व अध्यक्ष र प्रदेश अध्यक्षहरूले संस्थाको ऐतिहासिक योगदानबारे चर्चा गर्दै होमियोप्याथिक क्षेत्रमा गरिएका प्रगतिहरूको समीक्षा गरे। साधारणसभामा संस्थाका सदस्यहरू, विशेषज्ञहरू, र अन्य सहभागीहरूले होमियोप्याथिक क्षेत्रको आगामी योजना, चुनौती र सम्भावनाबारे छलफल गरेका थिए। कार्यक्रमले होमियोप्याथिक उपचारको प्रचारप्रसार गर्दै यस क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। एसोसिएसनले आफ्नो ७५औं वार्षिकोत्सवलाई इतिहासकै महत्वपूर्ण कोसेढुंगा ठहर गरेको अध्यक्ष कटुवालले जाकारी दिए ।