३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

विद्यालयको ५७ औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न



धनकुटा । श्री आधारभुत विद्यालय पारिपात्लेले ५७ औँ वार्षिक उत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका साथ सम्पन्न समारोहले विद्यालयको गौरवशाली इतिहास र योगदानलाई उजागर गरेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा विकास समन्वय समितिका प्रमुख मोहन राईले शिक्षाको महत्व, यसको गुणस्तर सुधार र विद्यालयको विकासमा सामुदायिक सहभागिताको भूमिकाका विषयमा आफ्ना विचार प्रस्तुत गरिन। उनले विद्यालयको प्रगति र शैक्षिक सफलताका लागि प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी योगदानको अपेक्षा व्यक्त गरिन । कार्यक्रममा विद्यालयलाई दीर्घकालीन सहयोग पुर्‍याउने अक्षयकोष दाताहरूलाई सम्मान गरिएको छ । त्यस्तै पूर्व विद्यालयको शैक्षिक विकासमा योगदान दिने पूर्व शिक्षक र वर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयको नेतृत्वमा योगदान पुर्‍याउने पूर्व प्रधानाध्यापक , विद्यालय व्यवस्थापनको सफलताका लागि योगदान पुर्‍याउने अध्यक्षहरूको समेत सम्मान गरिएकाे छ । त्यस्तै विद्यालयको भौतिक र शैक्षिक सुधारमा सहयोग गर्ने दाताहरू,विद्यालयसँग नजिकबाट सहकार्य गर्ने वडाअध्यक्षहरू तथा विद्यार्थीहरुलाइृ सम्मान गरिएको प्रधानाध्यापक विनोद सुवेदीले जानकारी दिए । कार्यक्रममा विभिन्न शैक्षिक, खेलकुद तथा अन्य क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

उक्त समारोहमा विद्यालय परिवार, अभिभावक, विद्यार्थी, स्थानीय समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनले यस उत्सवलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्दै, भविष्यमा पनि यस्ता कार्यक्रमहरूमार्फत विद्यालयलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।