२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

Radio Khabar Palika

पहिरोमा परेर परिवारका सदस्य गुमाएकालाई एमालेको सहयोग



पहिरोमा परेर परिवारका सदस्य गुमाएका धनकुटाको पाख्रीवास नगरपालिका–५ गुराँसेका सन्तोष तामाङको परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ । एमाले पाख्रीवास नगर सङ्गठन कमिटीले तामाङको परिवारलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

एमाले नेताहरूले तामाङको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग रकम प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले नगद हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै नेता राईले जनताको सुखदुःखमा एमाले सधैँ साथमा रहने धारणा राखे ।
अविरल वर्षाका कारण गत असोज १२ गते घर माथिबाट खसेको पहिरोले पुर्दा सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया लक्ष्मीशोभा राई मृत्यु भएको थियो । घरसहित परिवारका सदस्य गुमाएर अफ्ठेरोमा परेका बेला सहयोग पुर्याउन पार्टीको तर्फबाट रकम प्रदान गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङलाले जानकारी दिए ।