२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

Radio Khabar Palika

मोरङलाई २–० ले हराउँदै धनकुटाको विजयी सुरुवात, संखुवासभाले पनि सुनसरीलाई हरायाे





२७ कार्तिक, धनकुटा । कोशी प्रदेश खेलकुद गतिविधि तथा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटअन्तर्गत पहिलो दिनको फुटबल प्रतियोगितामा धनकुटाले मोरङलाई २–० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै संखुवासभाले पनि सुनसरीलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ।
पहिलो दिनको अर्को खेलमा झापा र भोजपुरबीच बराबरी भएपछि खेलको निर्णय भोलि बिहान टाइब्रेकरमार्फत गरिने भएको छ।
पहिलो दिनको नतिजासँगै खेलकुद क्षेत्रमा लगानी, पूर्वाधार र अवसर वितरणमा जिल्लागत विभेद भएको भन्दै पहाडी जिल्लालाई समान अवसर प्रदान गर्न सराेकारवालाले आग्रह गरेका छन।
धनकुटाको जितपछि खेलकुद क्षेत्रसँग सम्बन्धित सरोकारवालाले कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै खेलकुद विकासमा सबै जिल्लालाई समान अवसर दिनुपर्ने बताएका छन्।
कोशी प्रदेशमा खेलकुदका लागि हुने लगानी, प्रतियोगिता सञ्चालन, खेल प्रशिक्षक, स्तरीय खेलमैदान, कभर्डहल तथा अन्य सेवा–सुविधाको वितरणमा तराईका केही जिल्लाले तुलनात्मक रूपमा बढी प्राथमिकता पाउँदै आएको गुनासो खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज चाम्लिङ राईले बताए
पर्याप्त बजेट, पूर्वाधार र प्रशिक्षकको अभावका बीच पनि पहाडी जिल्लाका खेलाडीले आफ्नो क्षमता प्रमाणित गरिरहेको भन्दै खेलकुद विकासका लागि भूगोलका आधारमा नभई आवश्यकता र सम्भावनाका आधारमा लगानी गर्नुपर्नेमा उनको जोड थियो।
धनकुटाले मोरङलाई र संखुवासभाले सुनसरीलाई पराजित गरेको नतिजाले सीमित स्रोतसाधनका बीच पनि पहाडी जिल्लाका खेलाडी उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको सन्देश दिएकाे अध्यक्ष राईकाे भनाइ छ।
कनेशि प्रदेशका १४ वटै जिल्लामा समान अवसर र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न, पहाडी जिल्लामा नियमित प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्न तथा प्रत्येक जिल्लामा आवश्यक खेल प्रशिक्षक, स्तरीय खेलमैदान र कभर्डहल निर्माण गर्न पनि उनले माग गरेका छन।त्यस्तै खेलाडीलाई प्रशिक्षण, आवास, यातायात, पोषणलगायतका सेवा–सुविधामा समान व्यवहार गर्नुपर्ने र खेलकुदमा गरिएको लगानी तथा उपलब्धिको नियमित मूल्याङ्कन गर्नुपर्ने मागसमेत अघि सारिएको छ।
खेलकुद पदक जित्ने माध्यम मात्र नभई पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास, युवामा अनुशासन र जिल्लाहरूबीच आपसी सद्भाव कायम गर्ने महत्वपूर्ण क्षेत्र भएकाले सबै जिल्लाको सहभागिता र विकास आवश्यक रहेको सरोकारवालाको भनाइ छ।
कोशी प्रदेश १४ वटै जिल्लाको साझा प्रदेश भएकाले खेलकुदको विकास पनि सबै जिल्लाको समान सहभागिता, सम्मान र अवसरबाट मात्र सम्भव हुने भन्दै खेलकुद क्षेत्रमा निष्पक्षता र समान अवसर सुनिश्चित गर्न सराेकारवालाले माग गरेका छन ।