५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

Radio Khabar Palika

५ करोडको सहयोगले ७५ वर्ष पुरानो विद्यालयको भयो नाम परिवर्तन



  • ५ करोड सहयोग: पूर्वविद्यार्थी डा. सुनिलकुमार शर्माले भारती माध्यमिक विद्यालयलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन्।
  • ३ करोड रुपैयाँ विद्यालयको नाम परिवर्तनका लागि र २ करोड रुपैयाँ विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षाका लागि छात्रवृत्तिमा खर्च हुनेछ।
  • विद्यालयको नयाँ नाम: वि.सं. २००८ सालमा स्थापना भएको ७५ वर्ष पुरानो भारती माध्यमिक विद्यालयको नाम अब ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ रहने भएको छ।
  • उच्च शिक्षामा छात्रवृत्ति: कक्षा ६ देखि कम्तीमा पाँच वर्ष विद्यालयमा अध्ययन गरी एसईई उत्तीर्ण गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगको प्रक्रिया पूरा गरेपछि एमबीबीएस, बीडीएस, नर्सिङलगायतका उच्च शिक्षा निःशुल्क अध्ययनको अवसर दिइनेछ।

५ असोज, धनकुटा । पाख्रीबास नगरपालिका–१० चुङमाङस्थित ७५ वर्ष पुरानो भारती माध्यमिक विद्यालयमा पूर्वविद्यार्थी तथा समाजसेवी डा. सुनिलकुमार शर्माको ५ करोड रुपैयाँ बराबरको सहयोगपछि विद्यालयको नामसँगै विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षाको अवसरसमेत सुनिश्चित भएको छ ।

वि.सं. २००८ सालमा श्रीपञ्चमीका दिन स्थापना भएको विद्यालयको नाम अब ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ रहने भएको छ । विद्यालयको नाम आफ्ना पुर्खाको नाममा परिवर्तन गर्न डा. शर्माले ३ करोड रुपैयाँ सहयोग गरेका छन् । तर, शर्माको सहयोग नाम परिवर्तनमा मात्रै सीमित छैन । उनले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि थप २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता गरेका छन् । छात्रवृत्ति काठमाडौं मेडिकल कलेजमार्फत सञ्चालन हुनेछ । सम्झौताअनुसार कक्षा ६ देखि भारती माध्यमिक विद्यालयमा निरन्तर अध्ययन गरी कम्तीमा पाँच वर्ष पूरा गरेका र एसईई उत्तीर्ण आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुनेछन् । त्यसका लागि विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी आयोग वा विश्वविद्यालयको नियमअनुसार मेरिटका आधारमा काठमाडौं मेडिकल कलेजमा छनोट हुनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यालयले सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

छात्रवृत्तिअन्तर्गत काठमाडौं मेडिकल कलेजमा अध्यापन हुने डीएम, एमसीए, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएनएस, बीपीटीलगायतका शैक्षिक कार्यक्रम अध्ययनका लागि निःशुल्क व्यवस्था गरिएको डा.शर्माले बताए । विद्यालयको नाममा पुर्खाको नाम जोड्नु मात्रै आफ्नो उद्देश्य नभएको शर्माको भनाइ छ । पुर्खाबाट प्राप्त संस्कार, मूल्य र जिम्मेवारीलाई आगामी पुस्ताका लागि अवसरमा रूपान्तरण गर्ने उद्देश्यले सहयोग गरिएको उनले बताए । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलका अनुसार नाम परिवर्तनका लागि डा. शर्माले विद्यालयको नाममा ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरिसकेका छन् । छात्रवृत्ति सञ्चालनसम्बन्धी सम्झौतामा डा. शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पाख्रीबास–१० का वडाध्यक्ष हरि खत्री र पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले हस्ताक्षर गरेका छन् । जिल्लाकै अग्रणी विद्यालयका रूपमा रहेको भारती माध्यमिक विद्यालय स्वर्गीय रणबहादुर कुथुमी, छत्रबहादुर कुथुमी तथा हरिप्रसाद पोख्रेलको प्रमुख अग्रसरतामा स्थापना भएको थियो । सहयोग रकम हस्तान्तरण तथा छात्रवृत्ति सम्झौताका लागि डा.शर्मा आफ्ना बाबु लोकनाथ न्यौपाने र आमा तथा सासु आमा सहित आफ्नो पुर्ख्यौली गाउँ चुङमाङ पुगेका थिए ।