
९ भदौ,धनकुटा । नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने उद्देश्यले नेवाः मिसा दबु नगर कमिटीले आयोजना गरेको एकहप्ते निःशुल्क ख्वापा तालिम तथा विभिन्न सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेवार समुदायमा गाईजात्रा दिवंगत आफन्तको सम्झना तथा मृतात्माको शान्तिको कामनाका लागि मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। गाईजात्राका क्रममा धार्मिक तथा सांस्कृतिक कथाहरूलाई नाच, अभिनय तथा विभिन्न प्रस्तुतीमार्फत प्रस्तुत गर्न ख्वापाको विशेष महत्व रहेको छ। नेवार समुदायको गाईजात्रासँग जोडिएको परम्परागत मुखौटा ख्वापा दिवंगत व्यक्तिको घरमा समेत आवश्यक पर्ने भएकाले स्थानीय स्तरमै यसको संरक्षण र उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। एकहप्तासम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई ख्वापा निर्माणसम्बन्धी सीप प्रदान गरिएको थियो। तालिमको समापनसँगै तयार पारिएका ख्वापा दिवंगत आफन्त भएका आवश्यक घरपरिवारलाई निःशुल्क वितरण गरिएको छ।

कार्यक्रमले नयाँ पुस्तालाई नेवार समुदायको मौलिक कला, संस्कृति र परम्परासँग जोड्नुका साथै लोप हुँदै गएको ख्वापा निर्माण गर्ने परम्परागत सीपको संरक्षणमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ।
नेवाः मिसा दबु नगर कमिटीले आगामी दिनमा पनि नेवार समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।
