
१ साउन, धनकुटा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल बराइलीले नेपाल पत्रकार महासंघ धनकुटाको कल्याणकारी कोषका लागि ६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
राहदानी प्रकरणमा धनकुटाका नेपाली कांग्रेसका नेता सिद्धार्थ थापा मुछिएको प्रकरणबारे समाचार लेखेकै आधारमा पत्रकार बराइलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका –७, आन्द्रुङका पर्शु कार्कीले जातीय गालीगलौग गर्दै ज्यान मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय धनकुटामा असार ६ गते उजुरी गरेका थिए ।
रेडियो धनकुटा एफएमका अध्यक्ष तथा स्टेसन समेत रहेका बराइलीलाई कानुनी सहायताका लागि भन्दै अनौपचारि क्षेत्र सेवा केन्द्र नेपाल (इन्सेक) ले ७ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको थियो । इन्सेकले शुक्रबार धनकुटामा एक कार्यक्रमको आयोजना गरी सो रकम नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास र इन्सेक धनकुटा प्रतिनिधि इश्वर थापाले पत्रकार बराइलीलाई नगद हस्तान्त्रण गरेका थिए ।
इन्सेकले कानुनी सहायताका लागि उपलब्ध गराएको उक्त रकम मध्ये ६ हजार रुपैयाँ पत्रकार बराइलीले नेपाल पत्रकार महासंघ धनकुटा शाखाले स्थापना गरेको कल्याणकारी कोषमा जम्मा गर्नेगरी महासंघका धनकुटा अध्यक्ष खवासलाई हस्तान्त्रण गरे ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, शाखाका सल्लाहकार रमेशचन्द्र अधिकारी, सहसचिव इश्वर थापा, सदस्य सन्तोष सुवेदी लगायतको सहभागीता रहेको थियो ।

