- धनकुटाको सल्लेरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी आपूर्तिका लागि संघीय खानेपानी तथा ढल निकास आयोजनाको सहयोगमा सेडिमेन्टेशन ट्याङ्की निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
- सेडिमेन्टेशन ट्याङ्की सञ्चालनमा आएपछि पानीमा रहेका माटो, लेदो तथा अन्य ठोस कण हटाई शुद्धीकरण प्रक्रिया प्रभावकारी बन्ने तथा उपभोक्ताले गुणस्तरीय र सुरक्षित खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।
- आयोजनाको लागत साझेदारीमा उपभोक्ता समितिको २० प्रतिशत (रु. १२ लाख २६ हजार) र संघीय आयोजनाको ८० प्रतिशत (रु. ४९ लाख ७ हजार) लगानी रहेको छ। साथै १५ लाख ७१ हजार रुपैयाँ बराबरको फिटिङ सामग्री र ६० एचपी क्षमताका दुई वटा पम्प पनि उपलब्ध गराइएको छ।
- समितिका सचिव अनुर्जन छाराका अनुसार निर्माण सम्पन्न भएपछि खानेपानीको गुणस्तर सुधार, उपभोक्ताको स्वास्थ्य सुरक्षा, सेवा गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन खानेपानी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्नेछ।

२१ असार , धनकुटा। धनकुटा नगरवासीलाई स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्यसहित धनकुटा नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सेडिमेन्टेशन ट्याङ्कीको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।
संघीय खानेपानी तथा ढल निकास आयोजनाको आर्थिक सहयोग उक्त ट्याङ्कीको निर्माण भईरहेको हो । सेडिमेन्टेशन ट्याङ्की पानी शुद्धीकरण प्रक्रियाको महत्वपूर्ण संरचना हो। यसमा पानीमा मिसिएका माटो, लेदो तथा अन्य ठोस कणहरूलाई तल बसालेर थप सफा बनाइने भएकाले उपभोक्तासम्म पुग्ने खानेपानी अझ सुरक्षित र गुणस्तरीय हुने समितिको विश्वास छ।

धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अनुर्जन छाराका अनुसार निर्माणाधीन सेडिमेन्टेशन ट्याङ्की सञ्चालनमा आएपछि उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्नेछ। उनले यसले पानी शुद्धीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने बताए । आयोजनाको निर्माणका लागि २०८२ साल भदौ १ गते सम्झौता भएको थियो।

निर्माण कार्य निर्धारित योजना अनुसार अघि बढिरहेको समितिले जनाएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २० प्रतिशत अर्थात् १२ लाख २६ हजार रुपैयाँ लगानी रहेको छ भने संघीय खानेपानी तथा ढल निकास आयोजनाको ८० प्रतिशत अर्थात् ४९ लाख ७ हजार रुपैयाँ आर्थिक सहयोग रहेको समितिले जनाएको छ । यसका अतिरिक्त आयोजनालाई थप प्रभावकारी बनाउन कार्यालयको तर्फबाट १५ लाख ७१ हजार रुपैयाँ बराबरको फिटिङ सामग्री उपलब्ध गराइएको छ। साथै, पानी आपूर्तिलाई सहज र भरपर्दो बनाउन ६० एचपी क्षमताका दुई वटा पम्प समेत सहयोगस्वरूप उपलब्ध भएको सचिव छाराले जानकारी दिए ।

धनकुटामा बढ्दो खानेपानीको मागसँगै सुरक्षित र गुणस्तरीय पानी आपूर्तिको आवश्यकता पनि बढिरहेको अवस्थामा निर्माणाधीन सेडिमेन्टेशन ट्याङ्कीलाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ। निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि नगरवासीले अझ स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। खानेपानी पूर्वाधार विस्तार र शुद्धीकरण प्रणालीको सुदृढीकरणले नगर क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण, सेवा गुणस्तर अभिवृद्धि तथा दिगो खानेपानी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उपभोक्ता समितिको छ ।


