१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

Radio Khabar Palika

धनकुटामा वन डढेलो नियन्त्रण सप्ताह सुरु



१ चैत,धनकुटा । धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि ‘वन डढेलो सचेतना सप्ताह’ सुरु गरिएको छ।

सुख्खा मौसम सुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने भएकाले त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो रोकथाम, नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापन कार्यक्रममार्फत सप्ताह सुरु गरेको हो। ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नारासहित अभियान सञ्चालन गरिएको छ।


डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालका अनुसार सप्ताह चैत ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइनेछ। साथै, जेठ मसान्तसम्म डढेलोको उच्च जोखिम रहने भएकाले विशेष निगरानीका कार्यक्रम सञ्चालन गरिने उनले बताए। सप्ताहका क्रममा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना अभिवृद्धि, फायर लाइन सफाइ, नमुना अभ्यास, पातपतिङ्गर हटाउने तथा सुरक्षित रूपमा जलाउने जस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाइने तयारी गरिएको छ। वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत रहन डिभिजन वन कार्यालयले आग्रह गरेको छ। धनकुटा जिल्लामा हाल ३ सय ८७ वटा सामुदायिक वन रहेका छन्। प्रत्येक वर्ष वन डढेलोका कारण वनस्पतिजन्य स्रोत तथा जैविक विविधतामा क्षति हुँदै आएको छ।