७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

Radio Khabar Palika

दूधको मूल्य बढाउन माग गर्दै धनकुटाका दुग्ध उत्पादक किसानको सरकारलाई नौ दिने अल्टिमेटम



६ मंसिर,धनकुटा । दूधको मूल्य प्रतिलिटर न्युनतम ८० रुपैया कायम गर्न माग गर्दै धनकुटाका दुग्ध उत्पादक किसानले सरकारलाई नौ दिने अल्टिमेटम दिएका छन् ।

धनकुटामा आईतबार पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो अल्टिमेटम दिएका हुन । दूधको उचित मूल्य निर्धारण तथा किसानका विभिन्न समस्या समाधानका लागि पटक–पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएपछि किसान पुनः आन्दोलनमा उत्रिने तयारीमा जुटेका पत्रकार सम्मेलनमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा बोलदै जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाका अध्यक्ष नारद कटुवालले किसानका मागप्रति सरकारले बेवास्ता गरे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । उनका अनुसार पशु आहार, दाना, औषधि तथा श्रमको लागत निरन्तर बढ्दै गए पनि किसानले उत्पादन गरेको दूधको उचित मूल्य र बजारको सुनिश्चितता हुन सकेको छैन । यसले गर्दा दुग्ध व्यवसायमा संलग्न किसान आर्थिक समस्यामा पर्दै गएका छन् । किसानले सरकारले नौ दिन अर्थात मसिर १५ गते भित्र माग सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनका क्रममा उत्पादित दूध उपभोक्तालाई बिक्री नगर्ने, गाईभैँसी सडकमा छाड्ने, सडकमा दूध पोख्ने तथा गोबरले सडक पुर्ने लगायतका विरोधका कार्यक्रम गर्न सक्ने उनीहरूले संकेत गरेका छन् । धनकुटामा हाल दैनिक करिब २५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत धरान, विराटनगरलगायतका सहरमा बिक्रीका लागि पठाउने गरिएको छ । बाँकी दूध स्थानीय बजार तथा आसपासका क्षेत्रमा खपत हुँदै आएको छ । दुग्ध उत्पादन ग्रामीण क्षेत्रका किसानको आम्दानीको महत्वपूर्ण स्रोत भए पनि उत्पादन लागतअनुसार मूल्य नपाउँदा किसान यस व्यवसायबाट पलायन हुने जोखिम बढ्दै गएको छ । यस्तो अवस्थामा सरकारले किसानको मागलाई गम्भीरतापूर्वक लिई दूधको उचित मूल्य निर्धारण, बजार व्यवस्थापन तथा दुग्ध क्षेत्रका समस्या समाधान गर्न आवश्यक रहेको किसानको माग छ ।