२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

Radio Khabar Palika

ज्येष्ठ नागरिकका हकहित र अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय गठनको माग



२८ कार्तिक, धनकुटा । ज्येष्ठ नागरिकको हकहित, अधिकार संरक्षण तथा सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न छुट्टै ज्येष्ठ नागरिक मन्त्रालय गठन गर्नुपर्ने माग गरिएको छ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको १२औँ साधारण सभाको पूर्वसन्ध्यामा धनकुटामा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले यस्तो माग गरेका हुन्। देशका ७७ वटै जिल्लाका ज्येष्ठ नागरिक प्रतिनिधिहरूको सहभागितामा आयोजित प्रभातफेरीले ज्येष्ठ नागरिकको सम्मान, अधिकार संरक्षण र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि राज्यलाई जिम्मेवार बन्न आग्रह गरेको छ। ज्येष्ठ नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता तथा आवश्यक सेवा–सुविधाको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति र अनुभवका स्रोत भएकाले उनीहरूको सम्मान, संरक्षण तथा उचित व्यवस्थापन गर्नु सबैको दायित्व भएको बताए। उनले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित र सम्मानित बनाउन स्थानीय सरकारले पनि आवश्यक कार्यक्रम तथा सेवा–सुविधालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा देशभरका ७७ वटै जिल्लाका ज्येष्ठ नागरिक संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ज्येष्ठ नागरिक राष्ट्रका अनुभव, ज्ञान र सीपका स्रोत भएकाले उनीहरूको सम्मान, संरक्षण र उचित व्यवस्थापनलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको समेत जोड थियो। ज्येष्ठ नागरिकका समस्या र आवश्यकतालाई सम्बोधन गर्न छुट्टै मन्त्रालय गठन भएमा नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रभावकारी समन्वय र अनुगमन गर्न सहज हुने अपेक्षा गरिएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा धनकुटा नगरपालिका का प्रमुख चिन्तन तामाङलाई सम्मान समेत गरेको छ ।