
१९ असोज,धनकुटा । धनकुटामा एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन सुरु गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर पहिलोपटक स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो । अब हरेक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने तयारी गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले गरे। आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरण शक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा. विद्या श्रेष्ठले बताईन । सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णविन्दु तयार गरीने डा. श्रेष्ठले बताईन । झन्डै पाँच हजार वर्ष पुरानो काश्यप संहितामा समेत स्वर्णविन्दु प्राशनको विधि उल्लेख रहेको आयुर्वेद कित्सकहरूको भनाइ छ । धनकुटामा पहिलोपटक सञ्चालन गरिएको कार्यक्रममा हालसम्म एक सय ५० जना बालबालिका स्वर्णविन्दु प्राशनका लागि दर्ता भइसकेका डा. श्रेष्ठले जानकारी दिईन ।



