१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

Radio Khabar Palika

धनकुटामा बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइने



१६ असोज,धनकुटा । धनकुटामा एकदेखि पाँच वर्ष उमेर समूहका करिब बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर असोज १९ गते पहिलोपटक स्वर्णविन्दु प्राशन गराउने तयारी गरेको हो। त्यसपछि हरेक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णविन्दु प्राशन तयारी गरिएको छ। स्वर्णविन्दु प्राशन कार्यक्रमका लागि जिल्लाभरिका एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई सहभागी गराउने तयारी गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले जनाएको छ।
केन्द्रले शुक्रबार कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको अन्तरक्रियामा केन्द्रका प्रमुख डा. विद्या श्रेष्ठले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा स्वर्णविन्दुको महत्वपूर्ण भूमिका रहने बताइन। श्रेष्ठका अनुसार सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णविन्दु तयार गरिन्छ। आयुर्वेदिक मान्यता अनुसार बालबालिकाको स्वास्थ्य, स्मरण शक्ति तथा प्रतिरोधात्मक क्षमताको विकासमा स्वर्णविन्दु उपयोगी हुने भएकाले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताईन ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन जिल्लाका अभिभावकलाई आफ्ना एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकासहित उपस्थित हुन आग्रह गरिएको छ। केन्द्रले कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी तथा प्रचारप्रसार समेत अघि बढाएको जनाएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद चिकित्सक, जनप्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकको सहभागिता थियो।
झन्डै ५ हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा वर्णन गरिए अनुसार सुनको भष्मलाई घ्यु र महमा मिसाएर बनाएको लेहलाई थोपा स्वरूप खुवाउने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । मह र घिउ समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घिउको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने बताइएको छ । परम्परागत रूपमा प्रयोग हुँदै आएको स्वर्णविन्दु प्राशन नेपाल, भारतलगायतका अन्य देशहरूले पनि प्रयोग गरेर वैज्ञानिक पुष्टिसमेत भइसकेको आयुर्वेद चिकित्सकहरुले बताएका छन्।