
२, भदौ, धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा वर्तमान महासचिव रामबहादुर रायमाझी (श्रीराम) ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। व्यवसायीको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण तथा धनकुटाको समग्र आर्थिक विकासलाई मुख्य एजेन्डा बनाउँदै रायमाझीले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन्। रायमाझीले व्यवसायीलाई संघको सेवा सहज रूपमा उपलब्ध गराउनेदेखि स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन, लगानी भित्र्याउने र उद्यमशीलता विकाससम्मका विषयलाई आफ्नो प्रतिबद्धतामा समेटेका छन्।
४७ वर्षीय रायमाझीको परिचय

मोरङको पथरी शनिश्चरे–६ मा जन्मिएका रायमाझी हाल धनकुटा नगरपालिका–१ का स्थायी बासिन्दा हुन्। स्नातकोत्तर तहसम्म अध्ययन गरेका रायमाझी व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
उनी रामायाझी अटो वर्कशप, होटल देउराली एन्ड लज तथा देउराली कृषि फर्मका सञ्चालक हुन्। संस्थागत क्षेत्रमा पनि उनको लामो अनुभव छ। उनी अटो व्यवसायी संघ धनकुटाका संस्थापक अध्यक्ष हुन् भने विगत १८ वर्षदेखि सहकारी अभियानमा आबद्ध रहँदै हिलेको नवज्योति बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षका रूपमा कार्यरत छन्। रायमाझी जिल्ला अस्पताल व्यवस्थापन समिति धनकुटाका सदस्यसमेत हुन्। हाल उनी धनकुटा उद्योग वाणिज्य संघका कार्यबाहक महासचिवको जिम्मेवारीमा छन्। व्यवसाय र संस्थागत गतिविधिसँगै रायमाझी विगत तीन दशकदेखि फाइन आर्ट, साहित्य तथा चलचित्र निर्माणलगायत कलाकारिताका क्षेत्रमा समेत आबद्ध रहँदै आएका छन्।
घरदैलोमै सदस्यता र एकीकृत सेवा
रायमाझी नेतृत्वको प्यानलले प्रत्येक वर्ष व्यवसायीका पसल–पसलमै पुगेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । संघकै माध्यमबाट व्यवसायीका विभिन्न प्रशासनिक तथा व्यावसायिक कागजात नवीकरणमा सहजीकरण गर्ने योजना पनि अघि सारिएको छ ।
प्रतिबद्धतापत्रमा प्यान, अन्तःशुल्क, नापतौल नवीकरण, खाद्य इजाजत, करचुक्ता प्रमाणपत्र तथा आय विवरणलगायतका सेवामा व्यवसायीलाई सहजता प्रदान गर्ने उल्लेख छ । त्यस्तै होटल, लज, कृषि उपज, खाद्यान्न, मासु, सुनचाँदी, घरेलु तथा लघु उद्योगलगायत सबै क्षेत्रलाई समेटेर वस्तुगत सदस्यता विस्तार गर्ने र संघमा सबै क्षेत्रको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्ने योजना प्यानलले अघि सारेको छ ।
सीप विकासदेखि पर्यटन र बजारीकरणसम्म
जिल्लाभित्रका होटल, पर्यटकीय क्षेत्र, कृषि उत्पादन तथा घरेलु तथा लघु उद्योगको उत्पादन क्षमता अभिलेखीकरण गरी व्यावसायिक योजना निर्माण गर्ने प्रतिबद्धता रायमाझी प्यानलको छ । सीपमूलक व्यवसायमा संलग्न उद्यमीका लागि आधुनिक प्रविधि, क्षमता अभिवृद्धि तथा सीपमूलक तालिम निरन्तर सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । पर्यटन व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन अभियानसँग जोड्ने तथा स्थानीय घरेलु र कृषि उत्पादनको बजारीकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाइएको छ । हिलेमा रहेको वायर हाउसको विवाद समाधान गरी सञ्चालनमा ल्याउन पहल गर्ने विषयलाई समेत प्यानलले प्राथमिकतामा राखेको छ ।
पालिकास्तरसम्म संघको पहुँच विस्तार गर्ने योजना
रायमाझी प्यानलले धनकुटाका प्रत्येक स्थानीय तहमा उद्योग वाणिज्य संघको शाखा विस्तार गर्ने योजना अघि सारेको छ। स्थानीय पालिकासँग प्रत्यक्ष सहकार्य गर्दै उद्यमी तथा व्यवसाय प्रवद्र्धनसम्बन्धी सरकारी कार्यक्रम जिल्लामा भित्र्याउने प्रतिबद्धता पनि गरिएको छ। विश्वभर छरिएर रहेका धनकुटेलीलाई जोड्दै कृषि, पर्यटन तथा उद्योग क्षेत्रमा बाह्य लगानी भित्र्याउन ‘अन्तर्राष्ट्रिय धनकुटेली लगानी मञ्च’ सञ्चालन गर्ने योजना प्यानलले अघि सारेको छ ।
कर तथा भाडा समायोजनमा पहल
बजारमा देखिएको मन्दीलाई ध्यानमा राख्दै घरभाडा समायोजनका लागि व्यवसायी र घरधनीबीच मध्यस्थता गर्ने तथा स्थानीय व्यवसाय कर र घरबहाल कर छुट तथा पुनरावलोकनका लागि स्थानीय सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि गरिएको छ । त्यस्तै साप्ताहिक हटिया तथा गाडीबाट हुने खुद्रा बिक्री वितरणलाई व्यवस्थित र नियमन गरी स्थानीय स्थायी व्यवसायीको हित संरक्षण गर्ने योजना प्यानलले अघि सारेको छ । व्यवसायीका लागि कर, अन्तःशुल्क, नापतौल, खाद्य स्वच्छता तथा व्यावसायिक कानुनी प्रक्रियासम्बन्धी अभिमुखीकरण र एकीकृत परामर्श सेवा सञ्चालन गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।
सहुलियत बीमा र कृषि–पर्यटनमा विशेष जोड
संघमा आबद्ध साना तथा मझौला उद्यमीलाई लक्षित गरी सहुलियत स्वास्थ्य तथा जीवन बीमा कार्यक्रम लागू गर्ने प्रतिबद्धता गरिएको छ । कृषि र पर्यटन क्षेत्रमा अनुभव प्राप्त तथा सफल स्थानीय उद्यमी र अभियन्तालाई समेटेर विषयगत उपसमिति गठन गर्ने र कृषि तथा पर्यटन क्षेत्रलाई स्थानीय स्तरमै प्रवद्र्धन गर्दै व्यावसायिक बनाउने योजना पनि प्यानलले अघि सारेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य गैरसरकारी संस्थासँग समन्वय गरी सेवामूलक तथा आर्थिक उपार्जन हुने कार्यक्रम सञ्चालन गर्ने र त्यसबाट संघ तथा सदस्यलाई थप सबल बनाउने लक्ष्य राखिएको छ ।
पुरानो कार्यालयलाई व्यावसायिक भवन बनाउने
रायमाझी प्यानलले धनकुटाको तल्लो कोप्चेमा रहेको संघको पुरानो कार्यालयलाई व्यावसायिक भवनका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै संघको स्वामित्वमा धनकुटा–५ मा रहेको जग्गामा व्यावसायिक फलफूल खेती सञ्चालन गर्ने योजना अघि सारिएको छ।
रायमाझीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि व्यवसायीको साझा हित र धनकुटाको आर्थिक समृद्धिसँग जोडिएको अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनको प्यानलले ‘सबल नेतृत्व, सुरक्षित व्यापार, सम्मानित उद्यमी–स्वाभिमानको आधार’ भन्ने नारासहित व्यवसायीसमक्ष मत मागेको छ।

