=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026

Radio Khabar Palika

धनकुटामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित मनाइयो(फोटो फिचर सहित)



२४ साउन, धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाले ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारासहित पाख्रिवासमा आयोजित कार्यक्रममा आदिवासी जनजातिको पहिचान, अधिकार संरक्षण तथा समावेशी र न्यायपूर्ण समाज निर्माणका विषयमा जोड दिइएको थियो।

कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, महासंघका पूर्व तथा निवर्तमान अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, एकल जातीय संस्थाका प्रतिनिधि, जनजाति अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै प्राप्त अधिकारको रक्षा तथा थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनीहरूले राज्यका हरेक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। दिवसका अवसरमा समाज तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

सम्मानित हुनेमा पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, समाजसेवी निरोज गुरुङ, जनजाति महासंघ पाख्रीबास नगर समन्वय समितिलाई जग्गा उपलब्ध गराउने जग्गादाता अर्जुन गुरुङ, पूर्व नगर अध्यक्ष हरिबहादुर राई र थर्कमान श्रेष्ठ रहेका छन्। कार्यक्रममा विभिन्न जातजातिको भाषा, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले दिवसका अवसरमा विभिन्न क्षेत्रमा सहयोग तथा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको बताए।

उनले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा तथा संस्कृति संरक्षणका लागि महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिए। विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्ट ९ तारिखमा मनाइन्छ। दिवसले विश्वभरका आदिवासी समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवाज उठाउने अवसर प्रदान गर्दै आएको छ।