७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

Radio Khabar Palika

बीपी स्मृति दिवसमा धनकुटामा सरसफाइ र वृक्षारोपण



६ साउन, धनकुटा । ४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस धनकुटाले मंगलबार जिल्ला पार्टी कार्यालय रहेको सहिद भीमनारायण स्मृति भवन परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। सोही अवसरमा पार्टीले सञ्चालन गरेको ‘जरा अभियान’को पनि समापन गरिएको हो।

जरा अभियान समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नगेन्द्रकुमार कुमालले अभियानले पार्टीलाई जनस्तरसम्म जोड्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कांग्रेसलाई अझ क्रियाशील बनाउन सहयोग पुगेको बताए। उनले जननायक बीपी कोइरालाले अघि सारेका नीति र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।

केन्द्रीय सदस्य शारदा कोइरालाले बीपी कोइरालाले प्रतिपादन गरेका सिद्धान्त र नीतिअनुसार अघि बढ्न सके मुलुकले सही निकास पाउने धारणा राखिन्।नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राई र महासमिति सदस्य तथा संविधानसभा सदस्य लिला सुब्बाले बीपी कोइरालाको योगदान र जीवन दर्शनबारे प्रकाश पारे।

जिल्ला सचिव विजय सन्तोषी राईले कार्यक्रम सञ्चालन गर्दै यसको उद्देश्यबारे जानकारी गराएका थिए भने सहसचिव राम रायमाझीले स्वागत मन्तव्य राखेका थिए।

बीपी स्मृति दिवसका अवसरमा आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा कांग्रेस कार्यकर्ताको सहभागिता रहेको थियो।

सहभागीहरूले पार्टी कार्यालय परिसरमा सरसफाइ गर्नुका साथै विभिन्न जातका फूल तथा फलफूलका बिरुवा रोपेका थिए।