
३ साउन, धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले २५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। धनकुटामा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममार्फत कुसुम कुमारी श्रेष्ठको संयोजकत्वमा जिल्ला समिति घोषणा गरिएको हो। घोषित समितिको सह–संयोजकमा डिप्लव राई, हेमचन्द्र किराती र ओमप्रकाश निरौला चयन भएका छन्।
कार्यक्रममा सहभागी नेताहरूका अनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वामपन्थी घटकबीच २०८२ साल कात्तिक १९ गते पार्टी एकता भएपछि केन्द्र र प्रदेशस्तरमा संगठन निर्माण सम्पन्न भइसकेको छ। सोही अभियानअन्तर्गत धनकुटामा पनि जिल्ला समिति गठन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेशमा अब नेकपाले मुख्यमन्त्रीमा दाबी गर्ने बताए। कांग्रेस र एमालेले आलोपालो प्रदेश सरकारको नेतृत्व गरिसकेको उल्लेख गर्दै अब नेकपाको नेतृत्व स्वाभाविक दाबी हुने उनको भनाइ थियो।
राईले वर्तमान सरकारले लोकतन्त्रका मूल्य–मान्यता जोगाउन नसकेको आरोप पनि लगाए। बहुमतको आडमा राज्यसत्ता एकात्मक, तानाशाही र निरंकुश बन्दै गएको तथा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुको सट्टा कमजोर बनाउने काम भइरहेको उनले बताए। नेकपा धनकुटाका संयोजक कुसुम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सह–इन्चार्ज परशुराम बस्नेत, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, जिल्ला इन्चार्ज धर्मराज पौडेल, सह–इन्चार्ज विष्णुमाया कन्दङ्वा, आरपी बास्तोला लगायतको उपस्थिति रहेको प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिए।

