४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

Radio Khabar Palika

भेडेटार–रवि–राँके सडक ६ दिनपछि सञ्चालनमा



४ चैत धनकुटा । पहिरोका कारण ६ दिनदेखि अवरुद्ध रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।
साँगुरीगढी गाउँपालिका–६ नाम्जे थुम्की नजिक गत शुक्रबार बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो। करिब ३०० मिटर क्षेत्रमा थुप्रिएको माटो र ढुंगा हटाएपछि बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। सडक निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्रा टेकले स्काभेटर, जेसीभी लगायत उपकरण परिचालन गरेको थियो भने नेपाल प्रहरीको सहकार्यमा अवरोध हटाइएको सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुमदाली राईले जानकारी दिए । उक्त सडकमार्फत धरान र धनकुटाबाट चौबिसे क्षेत्र हुँदै पाँचथरसम्म नियमित यातायात सञ्चालन हुने गर्दछ। सडक खुलेसँगै बिहानदेखि सवारीसाधन गन्तव्यतर्फ आवतजावत गर्न थालेको अध्यक्ष राईले जानकारी दिए ।