
- .निर्वाचन समीक्षा – नेपाली कांग्रेस धनकुटाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै पार्टी संगठनलाई पुनर्संरचना गरी नयाँ ढंगबाट अघि बढ्ने निर्णय गरेको छ।
- पराजयको कारण – राष्ट्रिय स्वतन्त्र पार्टीको लहर र पूर्वी नेपालमा श्रम शक्ति पार्टीको प्रभावलाई समयमै सही रूपमा आकलन गर्न नसक्दा कांग्रेस थोरै मतान्तरले उपविजेतामा सीमित भएको निष्कर्ष।
- वडा तहसम्म समीक्षा – आगामी १५ दिनभित्र जिल्लाका सबै वडामा प्रतिनिधि खटाएर मतपरिणामको विस्तृत समीक्षा गरी प्रतिवेदन जिल्ला कार्यसमितिमा बुझाउने निर्णय।
- धन्यवाद ज्ञापन – कांग्रेसलाई मतदान गर्ने मतदाता, निर्वाचनमा खटिएका सुरक्षाकर्मी, पत्रकार, कर्मचारी तथा प्रचारप्रसारमा सक्रिय नेता–कार्यकर्तालाई बैठकले धन्यवाद दिएको छ।
२८ फागुन,धनकुटा । नेपाली कांग्रेस धनकुटाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी दिनमा पार्टी संगठनलाई पुनर्संरचना गरी नयाँ ढंगबाट अघि बढ्ने निर्णय गरेको छ। साथै निर्वाचनमा सहयोग गर्ने सबै पक्ष र मतदातालाई धन्यवाद दिने निर्णय पनि गरेको छ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिका सभापति तथा प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार दिनेश राईको अध्यक्षतामा सम्पन्न विस्तृत समीक्षा बैठकले देशव्यापी रूपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर र पूर्वी नेपालमा श्रम शक्ति पार्टीको प्रभावलाई समयमै सही रूपमा आकलन गर्न नसक्दा पार्टीले आफ्नो मत संरक्षण गर्न नसकेको निष्कर्ष निकालेको छ। यसै कारण कांग्रेस धनकुटा थोरै मतान्तरले विजयी हुन नसकी उपविजेतामा सीमित भएको बैठकको ठहर छ। बैठकले अब निर्वाचन परिणामको वडा तहसम्म विस्तृत समीक्षा गर्ने निर्णय गरेको छ। आगामी १५ दिनभित्र जिल्लाका सबै वडामा जिल्ला प्रतिनिधिहरू पुगेर मतपरिणामको समीक्षा गर्ने र त्यसको प्रतिवेदन पालिका तथा क्षेत्रीय समितिमार्फत जिल्ला कार्यसमितिमा बुझाउने निर्णय गरिएको छ। बैठकले प्रत्यक्ष तथा समानुपातिकतर्फ कांग्रेसलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गरेको छ। साथै निर्वाचन सफल बनाउन खटिएका सुरक्षाकर्मी, पत्रकार, कर्मचारी तथा अन्य सरोकारवालालाई पनि धन्यवाद दिएको छ। त्यसैगरी निर्वाचन प्रचारप्रसारमा सक्रिय रूपमा खटिएका पार्टीका नेता, कार्यकर्ता तथा कांग्रेसजनप्रति पनि बैठकले आभार व्यक्त गरेको छ। समीक्षा बैठकमा जिल्ला उपसभापति निर्मल ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निर्वाचनसम्बन्धी प्रतिवेदन जिल्ला सचिव विजय सन्तोषी राईले प्रस्तुत गरेका थिए। बैठकमा महासमिति सदस्य आनन्द सन्तोषी राई, संविधानसभा सदस्य लिला सुब्बा, महासमिति सदस्यहरू महेन्द्र निरौला र सीता प्रधान, पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, कोषाध्यक्ष सरस्वती मगर लगायत जिल्ला, पालिका र वडा तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। प्रारम्भिक समीक्षामा जिल्लाभर कांग्रेसजनको सक्रियता र मेहनत हुँदाहुँदै पनि मत संरक्षणमा कमजोरी देखिनु तथा नयाँ राजनीतिक शक्तिको प्रभावलाई सही रूपमा मूल्यांकन गर्न नसक्नु पराजयको मुख्य कारण रहेको निष्कर्ष निकालिएको कांग्रेसले जनाएको छ ।







