५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

Radio Khabar Palika

धनकुटा कारागार मा सेना तैनाथ ः निर्वाचन सुरक्षामा केन्द्रित विशेष रणनीति



५ फागुन, धनकुटा। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाको समग्र सुरक्षा व्यवस्थापन सुदृढ पार्ने रणनीतिअन्तर्गत धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ।

निर्वाचन अवधिमा नेपाल प्रहरीलाई मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा व्यापक रूपमा परिचालन गर्नुपर्ने भएकाले कारागार सुरक्षामा अस्थायी रूपमा सेना परिचालन गरिएको हो। यस कदमलाई निर्वाचन सुरक्षा व्यवस्थापनको रणनीतिक पुनर्संरचना रूपमा हेरिएको छ।धनकुटास्थित भिमदल गण बाट खटिएको सेनाको टोलीले कारागारको सुरक्षा जिम्मेवारी सम्हालिसकेको जनाएको छ। यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएका थिए।मन्त्रिपरिषद्को निर्णयअनुसार अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति अवलम्बन गरिएको हो। सोही निर्णय कार्यान्वयन गर्दै धनकुटामा पनि व्यवस्था मिलाइएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार निर्वाचन अवधिभर मात्रै सेनाले कारागारको सुरक्षा सम्हाल्नेछ। “निर्वाचनमा प्रहरी जनशक्ति ठूलो संख्यामा मतदान केन्द्रहरूमा खटिनुपर्ने भएकाले अस्थायी रूपमा सेनालाई जिम्मेवारी दिइएको हो,” उनले बताए। प्रहरी स्रोतका अनुसार जिल्लाका मतदान केन्द्रहरूको संवेदनशीलताको वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ। यसले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस व्यवस्थालाई निर्वाचन सुरक्षामा राज्यका विभिन्न सुरक्षा निकायबीचको समन्वय र भूमिकाको पुनर्संयोजनका रूपमा समेत विश्लेषण गरिएको छ।