
कांग्रेस रूपान्तरण र शक्ति ः सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरण भएको नेपाली कांग्रेसमै देश बनाउने र बदल्ने शक्ति रहेको बताउँदै जनताको चाहना अनुसार पार्टी परिवर्तन भई भरोसाको केन्द्र बनेको दाबी गरिन्।
१० बुँदे भिजन र नयाँ उम्मेदवारः रोजगार, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सुशासन समेटिएको १० बुँदे भिजनसहित कांग्रेस निर्वाचनमा होमिएको र १०६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाइएको जानकारी दिइयो।
आन्तरिक एकता र संगठनः पूर्व मन्त्री तारामान गुरुङले कांग्रेस सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एक्लो पार्टी भएको र पार्टीभित्र विद्रोही उम्मेदवार नरहेको स्पष्ट पारे।
आचारसंहिता र लोकतन्त्रको प्रतिबद्धताः प्रतिनिधिसभा उम्मेदवार दिनेश राईले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता
माघ २७, धनकुटा । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले परिवर्तन भएको नेपाली कांग्रेसमै देश बनाउने र बदल्ने शक्ति रहेको बताएकी छन। चुनाव प्रचारप्रसार समिति धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको चाहना र समयको मागअनुसार कांग्रेस रूपान्तरण भएको र अब देशभर भरोसाको केन्द्र बनेको बताएकी हुन।
सहमहामन्त्री सङ्ग्रौलाले नेपाली कांग्रेसको मूल भिजन नै देश बदल्नु भएको उल्लेख गर्दै बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्ने दाबी गरिन। उनले अन्य राजनीतिक दलहरूले नेतृत्व र नीतिमा आवश्यक परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने सफलतापूर्वक आन्तरिक रूपान्तरण गरेको दावी गरिन।

रोजगार सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सुशासन लगायतका विषय समेटिएको १० बुँदे भिजनसहित कांग्रेस आगामी निर्वाचनमा होमिएको पनि उनले जानकारी दिइन। उनले कांग्रेसले यसपटक १०६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको उल्लेख गर्दै प्रत्येक उम्मेदवारमा देश बदल्ने आँट, अठोट र प्रतिबद्धता रहेको जानकारी दिईन। जनताको भरोसा जित्ने गरी उम्मेदवार चयन गरिएको उनको भनाइ थियो। कार्यक्रममा नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तथा संविधानसभा सदस्य पूर्व मन्त्री तारामान गुरुङले विशेष अधिवेशनपछि कांग्रेसले नयाँ युग परिवर्तनको घोषणा गर्दै अघि बढेको बताए। उनले कांग्रेस सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एक्लो पार्टी भएको दाबी गर्दै पार्टीभित्र कतै पनि विद्रोही उम्मेदवार नरहेको स्पष्ट पारेका थिए। देशभर सन्तुलित, सक्षम र जनतासँग जोडिएका उम्मेदवार उठाइएको उनको भनाइ थियो। त्यस्तै, पत्रकार सम्मेलनमा सहभागी नेपाली कांग्रेस धनकुटाका प्रतिनिधिसभा उम्मेदवार दिनेश राईले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु नै आफ्नो मुख्य ध्येय रहेको बताएका छन। उनले निर्वाचनमा अनावश्यक तडकभडक कम गर्ने प्रतिबद्धता जनाउँदै सबै राजनीतिक दललाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेका थिए। साथै, उनले सम्बन्धित निकायलाई पनि निष्पक्ष र प्रभावकारी अनुगमन गर्न आग्रह गरेका थिए। पत्रकार सम्मेलनमा सहभागी नेताहरूले लोकतन्त्र, संविधानको रक्षा र स्थिर सरकारका लागि कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको धारणा राखेका थिए। आगामी निर्वाचनमार्फत जनताको विश्वास जित्दै कांग्रेसले देश निर्माणको जिम्मेवारी लिने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन। कार्यक्रम प्रतिनिधिसभा निर्वाचन मुल प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।










