
- आय–व्यय सार्वजनिक: १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय शुक्रबार सार्वजनिक गरिएको छ। सञ्चारमाध्यमबाट खर्च सार्वजनिक गर्न ढिलाइ भएको विषय उठेपछि आयोजकले औपचारिक कार्यक्रममार्फत विवरण सार्वजनिक गरेको हो।
- कुल आम्दानी र खर्च: प्रतियोगिताबाट ४२ लाख ८० हजार ५ सय ७ रुपैयाँ आम्दानी र ३५ लाख ९८ हजार १ सय १६ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।
- रकम उठ्न बाँकी: विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी तथा खेलप्रेमीबाट प्रतिबद्धता गरिएको १८ लाख २५ हजार ३ सय रुपैयाँ उठ्न बाँकी रहेको छ। उक्त रकम उठेपछि प्रतिष्ठानको नाममा ६ लाख ८२ हजार ३ सय ९१ रुपैयाँ बचत हुने आयोजकको भनाइ छ।
- मुख्य खर्च: प्रतियोगितामा पुरस्कारमा ९ लाख, खेलाडीको दैनिक भत्तामा ३ लाख ६८ हजार, निर्णायकको भत्ता तथा यातायातमा ३ लाख १ हजार ५ सय ९० लगायत विभिन्न शीर्षकमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ। आयोजकले बाँकी रकम उठाउन पहल गर्ने जनाएको छ।
विदुर खवास
५ भदौ,धनकुटा । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ। प्रतियोगिताको खर्च सार्वजनिक गर्न आयोजकले ढिलाइ गरेको भन्दै धनकुटाका सञ्चारमाध्यममा पटक–पटक समाचार सम्प्रेषण भएपछि आयोजकले शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो।
शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको हो। आय–व्यय विवरण सार्वजनिक गर्दै प्रतियोगिता आयोजक समितिका संयोजक शम्भु प्रधानले प्रतियोगिताबाट ४२ लाख ८० हजार ५ सय ७ रुपैयाँ आम्दानी भएको र ३५ लाख ९८ हजार १ सय १६ रुपैयाँ खर्च भएको जानकारी दिए।

प्रधानका अनुसार विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी तथा खेलप्रेमीबाट प्रतियोगिताका लागि प्रतिबद्धता जनाइएको १८ लाख २५ हजार ३०० रुपैयाँ उठ्न बाँकी रहेको छ। उक्त रकमसमेत उठेमा शहीद भीमनारायण स्मृति प्रतिष्ठानको नाममा ६ लाख ८२ हजार ३ सय ९१ रुपैयाँ बचत हुने आयोजकले जनाएको छ। प्रतिवेदनअनुसार प्रतियोगिताको आम्दानीतर्फ धनकुटा नगरपालिकाबाट १३ लाख रुपैयाँ, पाख्रीबास नगरपालिकाबाट ९८ हजार १ सय४ रुपैयाँ, छथर जोरपाटी गाउँपालिकाबाट ९८ हजार १ सय ७० रुपैयाँ, सहिदभूमि गाउँपालिकाबाट ९७ हजार १ सय ७७ रुपैयाँ, महालक्ष्मी नगरपालिकाबाट ६८ हजार ९ सय५० रुपैयाँ र साँगुरीगढी गाउँपालिकाबाट १ लाख रुपैयाँ प्राप्त भएको आयोजकले जनाएको छ । त्यस्तै, प्रदेश खेलकुद विकास बोर्डबाट ७ लाख रुपैयाँ, राष्ट्रिय खेलकुद परिषद्बाट १ लाख रुपैयाँ, धनकुटा नगरपालिकाका वडा नं.५, ६, ७ र १० बाट ६४ हजार रुपैयाँ, एन पेनाङ क्लब मलेसियाबाट ३ लाख रुपैयाँ, एक्सट्रिम इनर्जी काठमाडौँबाट ३ लाख ८२ हजार ५ सय रुपैयाँ र गोर्खा ब्रुअरी टुबोर्गबाट ४० हजार रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी एनी क्लोथ झापाबाट ३५ हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाबाट ६ लाख ९५ हजार रुपैयाँ, संघसंस्था तथा कार्यालयबाट १ लाख १ हजार रुपैयाँ, शैक्षिक संस्थाबाट ५७ हजार ५ रुपैयाँ, उद्योगी–व्यापारी तथा खेलप्रेमीबाट ३ लाख ६८ हजार ४०५ रुपैयाँ र दोस्रो पुरस्कार विजेता रकमबापत ३ लाख रुपैयाँ आम्दानी भएको जनाइएको छ। खर्चतर्फ खेलाडीको दैनिक भत्तामा ३ लाख ६८ हजार रुपैयाँ, निर्णायकको दैनिक भत्ता तथा यातायात खर्चमा ३ लाख १ हजार ५ सय ९० रुपैयाँ, पुरस्कारमा ९ लाख रुपैयाँ, व्यक्तिगत नगद पुरस्कारमा १ लाख २८ हजार ७ सय ३१ रुपैयाँ, गोल नेपाल डटकममा ४५ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै कप, मेडल तथा खेल सामग्रीमा १ लाख ३ हजार ३० रुपैयाँ, प्रमाणपत्र तथा मायाको चिनोमा ६६ हजार ९ सय २५ रुपैयाँ, ब्यानर तथा पोस्टर छपाइमा ४० हजार १५ रुपैयाँ, साउण्ड सिस्टममा ३० हजार रुपैयाँ, मैदान व्यवस्थापनमा १ लाख २७ हजार ८ सय ७५ रुपैयाँ, बल ब्वाई तथा कामदारमा ३३ हजार ९ सय रुपैयाँ र पोसाक खरिदमा ६५ हजार ८सय रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ। त्यस्तै आतिसबाजी तथा अन्य सामग्री खरिदमा ३६ हजार ५० रुपैयाँ, चिया–नास्ता तथा विविध खर्चमा १ लाख ७१ हजार २ सय रुपैयाँ र दोस्रो पुरस्कार विजेता खेलाडीलाई प्रोत्साहन बापत १ लाख ८० हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।

आय–व्यय सार्वजनिक कार्यक्रममा शहीद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले अध्यक्षता गरेका थिए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, भीमदल गणका सेनानी मन्दिप राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक राजेश फुयल, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख रामेश्वर बस्नेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईलगायतको उपस्थिति थियो। आय–व्यय सार्वजनिक कार्यक्रममा आयोजकले बाँकी रकम उठाउन पहल गर्ने र प्राप्त रकमअनुसार प्रतिष्ठानको बचत रकम कायम हुने जनाएको छ।

