
३१ बैशाख, काठमाण्डौ । सुनिलबहादुर थापाले सरकारको आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा, लक्ष्यहीन र जनअपेक्षाअनुसार अपर्याप्त रहेको टिप्पणी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बुधबार धारणा राख्दै उनले सरकारले देशको वास्तविक समस्या समाधानतर्फ भन्दा आत्मप्रशंसामा केन्द्रित नीति ल्याएको आरोप लगाए।
उनले देश आर्थिक संकटबाट गुज्रिरहेको, उद्योग व्यवसाय थलिएको, बजारमा क्रयशक्ति घटेको, युवाहरु विदेशिन बाध्य भएको र किसान निराश बनेको अवस्थामा पनि सरकारले समस्या समाधानको ठोस योजना प्रस्तुत गर्न नसकेको बताए। राजस्व संकलन कमजोर, पूँजीगत खर्च न्यून र वैदेशिक ऋण बढिरहेको अवस्थामा सरकारले केवल आकर्षक शब्दको सहारामा अर्थतन्त्र चलाउन खोजेको उनको आरोप थियो।
युवालाई रोजगारीको सपना देखाइए पनि उद्योग, लगानी र उत्पादनको वातावरण नभएकाले हजारौं युवा विदेश पलायन भइरहेको उनले बताए। कृषि क्षेत्रप्रति सरकार गम्भीर नभएको उल्लेख गर्दै उनले मल, सिँचाइ, उत्पादन लागत र बजार समस्याले किसान मारमा परेको बताए। धनकुटालगायत ग्रामीण क्षेत्रमा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको विषयलाई सरकारले प्राथमिकता नदिएको उनको भनाइ थियो।
थापाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न सरकार अनिच्छुक रहेको आरोप लगाए। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका ठोस योजना नभएको तथा पुरानै कार्यक्रम दोहोर्याइएको उनको टिप्पणी थियो। संविधान संशोधनका लागि सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र संविधानविद्सँग छलफल गरी विज्ञ आयोग गठन गर्नुपर्ने सुझाव उनले दिए। साथै सिंहदरबार, शीतलनिवासलगायत ऐतिहासिक सम्पदाको पुनर्निर्माणबारे नीति तथा कार्यक्रममा स्पष्ट योजना नआएको भन्दै उनले सरकारको आलोचना गरे। उनले नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा आवश्यक तयारी र स्पष्ट दृष्टिकोण नीति तथा कार्यक्रममा नदेखिएको बताए। फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रेलिस्ट जोखिम, जलवायु परिवर्तन, महँगी नियन्त्रण तथा मानवअधिकारका विषयमा पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो। थापाले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिले संसदीय सर्वोच्चता कमजोर बनाउने चेतावनी दिँदै न्यायपालिकाको स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गरे। उनले सरकारले जनताको वास्तविक आवश्यकता र राष्ट्रिय चुनौतीअनुसार नीति पुनर्संरचना गर्नुपर्नेमा जोड दिए।

