२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

Radio Khabar Palika

रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापालाई





धनकुटा, २२ वैशाख । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले जितेको छ। फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले लगातार दोस्रो पटक उपाधि उचालेको हो।


निर्धारित ९० मिनेटको खेलमा आयोजक राराले एक गोल गर्दै अग्रता लिएको थियो। तर, अतिरिक्त समयमा बिर्तामोड युनाइटेडले बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।


पेनाल्टी सुटआउटमा बिर्तामोडका दिवस उराउ, संजय लिम्बु, मौसम सुब्बा, विवेक पौडेल र प्रशान्त लक्षमले गोल गरेका थिए। रारा फुटबल क्लबका तर्फबाट किरण चेम्जोङ, विशाल भण्डारी, मणि लामा र शिशिर लेखीले गोल गरे भने दिपेश गुरुङको प्रहार बिर्तामोडका गोलकिपरले बचाएका थिए।


उपाधिसँगै बिर्तामोड युनाइटेडले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको रारा फुटबल क्लबले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगितामा बिर्तामोडका प्रशान्त लक्षम म्यान अफ द म्याच घोषित भए। रारा फुटबल क्लबका कप्तान किरण चेम्जोङ उत्कृष्ट खेलाडी चुनिए भने सोही टिमका लोकेन्द्र लिम्बुले उदयमान खेलाडीको उपाधि प्राप्त गरे।
बिर्तामोड युनाइटेडका कप्तान अभिषेक बराल उत्कृष्ट गोलकिपर घोषित भए भने सोही टिमका राजेश दाहाल सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगिताभर ४ गोल गरेका थिए।