४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

Radio Khabar Palika

मौलिकता जोगाउँदै पर्यटन उकास्ने लक्ष्यसहित कोप्चेमा चौथो फेस्टिभल सुरु(फोटो फिचर)



३० चैत्र ,धनकुटा । नयाँ वर्ष २०८३ को स्वागतसँगै धनकुटाको कोप्चेमा स्थानीय मौलिकता संरक्षण र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै चौथो कोप्चे फेस्टिभल सुरु भएको छ। धनकुटा नगरपालिका–५ स्थित ऐतिहासिक बिहीबारे हटियामा सोमबारदेखि सुरु भएको फेस्टिभल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ।

‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नारासहित आयोजना गरिएको फेस्टिभलले पछिल्लो समय ओझेलमा पर्दै गएको स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई पुनर्जीवित गर्ने प्रयास गरेको आयोजकले जनाएको छ। कोप्चे पुनर्जागरण अभियानको अगुवाइमा भइरहेको कार्यक्रम २०७९ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।

फेस्टिभल उद्घाटन गर्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले स्थानीय मौलिक खाना र संस्कृतिले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कोप्चे क्षेत्रमा पर्यटकको आगमन बढेमा त्यसको सकारात्मक प्रभाव जिल्लाभरि फैलिने विश्वास व्यक्त गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिका वडा नं ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले कोप्चेसग हाडीगाउको साईनो गासिएको भन्दै यस क्षेत्रको सस्कार संस्कृतीलाई जिवन्त राख्न सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा समाजिक अगुवा तथा सल्भ नेपालका अध्यक्ष राजेन्द्र बहादुर प्रधानले पछिल्लो समय कोप्चेले मौलिकता र आफनो पहिचान जोगाउन लागेकोमा खुशि व्यक्त गर्दै विभिन्न योजना बनाएर अघि बढे यो क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले यस्ता खालका कार्यक्रमले यहाको मौलिकता सगै सस्कार सस्कृतीको पनि प्रचार प्रसार हुने भन्दै आगामी दिनमा अझ भव्यरुपमा सबैलाई समेटेर कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव दिएका थिए । उनले धनकुटाका पत्रकारले सदैव धनकुटाको विकास निमार्ण, सुशासन , पर्यटन प्रर्बद्धनका लागि कलम चलाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस क्षेत्रको पर्यटन प्रबद्र्धन निस्वार्थ लागि पर्ने प्रतिबद्धता व्यत्तल गरे ।


फेस्टिभलमा नेवार, आठपहरिया लगायत स्थानीय समुदायका कला, संस्कृति, भेषभूषा, रहनसहन र परम्परागत परिकार मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। साथै, २० वटा स्टलमार्फत स्थानीय उत्पादन, हस्तकला सामग्री, पुराना तस्बिर, लोपोन्मुख वस्तु तथा मनोरञ्जनात्मक खेलहरू प्रदर्शनमा राखिएको कार्यक्रमका संयोजक उज्वल कर्मचार्यले जानकारी दिए । फेस्टिभलको मुख्य उद्देश्य कोप्चेलाई बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुका साथै स्थानीय बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्नु भएको उनको भनाई छ ।

पर्यटन प्रवर्द्धन, कला–संस्कृति आदानप्रदान र नीतिगत सहकार्यसम्बन्धी समझदारी

फेस्टिभलकै अवसरमा धनकुटाको कोप्चे र काठमाडौँ महानगरपालिका–५ स्थित हाडी गाउँबीच पर्यटन प्रवर्द्धन, कला–संस्कृति आदानप्रदान र नीतिगत सहकार्यसम्बन्धी समझदारी पनि भएको छ। हाडी गाउँका वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले आर्थिक सहयोग सीमित भए पनि नीतिगत तथा समन्वयात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय युवाहरूको सक्रियतामा सुरु गरिएको कोप्चे फेस्टिभलले परम्परा जोगाउँदै पर्यटनमार्फत आर्थिक गतिविधि बढाउने नयाँ सम्भावना देखाएको स्थानीयवासीको विश्वास छ।

कार्यक्रममा कोप्चेको विभिन्न क्षेत्रमा योगदान गर्न सहयोग गरेको भन्दै समाजसेवाी राजेन्द्र बहादुर प्रधान र पत्रकार कविराज घिमिरेलाई सम्मान गरिएको छ ।