
१० चैत्र, धनकुटा । धनकुटाको हिलेमा मंगलबारदेखि १८औँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सुरु भएको छ। हिले भलिबल क्लबको आयोजनामा हिले खेलमैदानमा प्रतियोगिता सञ्चालनमा आएको हो।
उद्घाटन खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले विजयी सुरुवात गरेको छ। उसले भोजपुरकै हतुवागढी गाउँपालिकालाई १९–२५, २५–२३, २४–२६, २५–९ र १५–१० को सेटमा पराजित गरेको हो। प्रतियोगितामा पूर्वका विभिन्न ९ पालिकाका टोलीहरूको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिए। सहभागी टोलीहरूमा आमचोक र रामप्रसाद राई गाउँपालिका, धनकुटाका पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरका अरुण, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका तथा झापाको कन्काई नगरपालिका रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल रामनवमी अर्थात् चैत १३ गते हुने आयोजकले जनाएको छ। हिलेमा २०५५ सालदेखि रामनवमीको अवसरमा भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ।







