५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

Radio Khabar Palika

धनकुटामा घरदैलोमै मतदाता शिक्षा, ६० वडामा स्वयंसेवक परिचालन



  • १. ६० वडामा स्वयंसेवक परिचालन
    आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग को अभियानअनुसार धनकुटाका ७ वटै पालिकाका ६० वडामा घरदैलोमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। नयाँ मतदाता, युवा, ज्येष्ठ नागरिक र कम साक्षर मतदातालाई प्राथमिकतामा राखी व्यवहारिक अभ्यास गराइँदैछ।
  • २. मतदान प्रक्रिया र अनुगमन व्यवस्था
    प्रत्येक वडामा १ जना स्वयंसेवक र प्रत्येक पालिकामा १ जना अनुगमनकर्ता खटाइएका छन्। नमूना मतपत्रमार्फत सही चिन्ह लगाउने तरिका, प्रत्यक्ष–समानुपातिक प्रणालीको भिन्नता, गोपनीयता र आचारसंहिताबारे जानकारी दिइँदैछ।
  • ३. मतदाता संख्या र बदर मत घटाउने लक्ष्य
    जिल्लामा १,१८,४२५ मतदाता, ११९ मतदान स्थल र १६६ मतदान केन्द्र तोकिएका छन्। अघिल्ला निर्वाचनमा ३.९१% देखि ५.५५% सम्म बदर मत देखिएकाले यसपटक घरदैलोमै शिक्षा कार्यक्रममार्फत बदर मत घटाउने अपेक्षा गरिएको छ।

५ फागुन, धनकुटा। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धनकुटामा घर–घरमै पुगेर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। मतदान प्रक्रियालाई सहज बनाउने र बदर मत घटाउने उद्देश्यसहित निर्वाचन आयोग को अभियानअनुसार जिल्लाका सातवटै पालिकाका ६० वडामा स्वयंसेवक परिचालन गरिएको हो। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई विशेष प्राथमिकतामा राखी व्यवहारिक अभ्याससहित शिक्षा दिइँदैछ। मतपत्रमा सही चिन्ह कसरी लगाउने, प्रत्यक्ष र समानुपातिक प्रणालीको भिन्नता, मतदान केन्द्रको आचारसंहिता तथा मतदानको गोपनीयताबारे स्पष्ट जानकारी गराइँदैछ। स्वयंसेवक र अनुगमन व्यवस्था ६० वटै वडामा १ः१ जना स्वयंसेवक ७ वटै स्थानीय तहमा १ः१ जना निर्वाचन सम्पर्क (अनुगमन) व्यक्ति स्वयंसेवकका रूपमा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामाजिक परिचालक खटाइएका स्वयंसेवकलाई १० हजार र अनुगमनकर्तालाई ५ हजार रुपैयाँ पारिश्रमिक स्वयंसेवकले नमूना मतपत्र प्रयोग गरेर बस्तीमै अभ्यास गराउँदै निर्वाचनको महत्व र मतदान प्रक्रिया बुझाइरहेका छन्।
कति छन् मतदाता र मतदान केन्द्र ?

धनकुटामा कुल मतदाता संख्या १ लाख १८ हजार ४ सय २५ छ। जिल्लाभर १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र तोकिएका छन्। साथै जिल्ला कारागार र निर्वाचनमा नखटिएका कर्मचारीका लागि दुई वटा अस्थायी मतदान स्थल रहने जनाइएको छ।

विगतमा कति बदर भए मत ?

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ं.९१ प्रतिशत र समानुपातिकतर्फ ५.५५ प्रतिशत मत बदर भएको थियो। त्यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा ४.६९ र समानुपातिकमा ५.६५ प्रतिशत बदर मत रहेको थियो भने २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.४८ प्रतिशत मत बदर भएको तथ्यांक छ। विशेषगरी समानुपातिकतर्फ धेरै चुनाव चिह्न र मतदाता शिक्षा पर्याप्त नहुँदा बदर मत बढी हुने गरेको मतदाताको गुनासो छ। यसपटक भने घरदैलोमै अभ्याससहितको मतदाता शिक्षाले बदर मत घटाउने अपेक्षा गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाई निष्पक्ष, मर्यादित र सफल निर्वाचनमा साथ दिन आग्रह गरेको छ।