२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

Radio Khabar Palika

निर्वाचनमा सामाजिक सञ्जाल दुरुपयोग हुनसक्ने जोखिम, सुरक्षा सतर्कता बढाइँदै-मन्त्री पराजुली




धनकुटा, फागुन २ ।काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणि पराजुलीले निर्वाचनमा सामाजिक सञ्जालको सम्भावित दुरुपयोग र सुरक्षा जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन्।
प्रेसचौतारी धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री पराजुलीले आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले निर्वाचन प्रक्रियालाई विश्वसनीय बनाउन आवश्यक कानुनी तथा प्रशासनिक तयारी तीव्र पारिएको जानकारी दिए।


मन्त्री पराजुलीले निर्वाचनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा उत्तेजनात्मक सामग्री फैलिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सम्बन्धित निकायहरूलाई सतर्क रहन आग्रह गरे। “सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचनको वातावरण प्रभावित पार्न सक्छ, त्यसैले साइबर निगरानी र सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ,” उनले भने।
उनले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुका साथै सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको जानकारी दिए। सुरक्षा निकायहरूसँग समन्वय गरी सम्भावित सुरक्षा ‘थेर्ट’लाई मध्यनजर गर्दै आवश्यक तयारी गरिएको उनको भनाइ थियो।
मन्त्री पराजुलीले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने स्पष्ट पारे। उनले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यम, राजनीतिक दल तथा सर्वसाधारण सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा पत्रकारहरूले सुरक्षा तयारी, सामाजिक सञ्जाल नियमन तथा सम्भावित चुनौतीबारे जिज्ञासा राखेका थिए। मन्त्री पराजुलीले प्रदेश सरकारले शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक स्रोत–साधन व्यवस्थापन गरिरहेको बताए।
प्रेसचौतारी धनकुटाका अध्यक्ष नारायण कुमार आठपहरिया काे अध्यक्षतामा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।