
धनकुटा माघ, २८ । नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राईले कृषिमा आत्मनिर्भरता हासिल गर्दै युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्। धनकुटामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कृषि, रोजगारी र पर्यटनलाई आफ्नो मुख्य कार्यसूचीका रूपमा अघि सारे। राईका अनुसार धनकुटाको अर्थतन्त्र मजबुत बनाउन कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य छ। किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य र समयमै भुक्तानी नपाउँदा निराशा बढेको उल्लेख गर्दै उनले दुग्ध किसानको समस्या समाधान पहिलो प्राथमिकतामा रहेको बताए। “किसानले मेहनत गरेर उत्पादन गरेको दूधको भुक्तानी ढिला हुने अवस्था अब सह्य हुँदैन। पारदर्शी र सुनिश्चित भुक्तानी प्रणाली लागू गरिन्छ,” उनले प्रतिबद्धता जनाए। उनले धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले धनी धनकुटामा पर्यटन विकासको ठूलो सम्भावना रहेको उल्लेख गरे। ती सम्भावनालाई व्यवस्थित ढंगले प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना रहेको उनले बताए। पर्यटनको विस्तारले स्थानीयस्तरमै रोजगारी सिर्जना हुने विश्वास उनले व्यक्त गरे। राईले दीर्घकालीन विकासका लागि गौरवका आयोजनाको संख्या बढाउने, योजनाबद्ध शहरीकरण गर्ने तथा सबै पालिकामा क्रमशः नयाँ सहर विकासको अवधारणा अघि बढाउने बताए। साथै, कांग्रेसको घोषणापत्र तयार पार्दा स्थानीय बासिन्दा, विज्ञ र सरोकारवालाबाट सुझाव संकलन गरिरहेको जानकारी दिए।निर्वाचन अभियानको शैली परिवर्तन भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत मतदातासँग प्रत्यक्ष संवादलाई तीव्र बनाइएको बताए। “अबको चुनाव विचार र भिजनको प्रतिस्पर्धा हो, त्यसैले युवासम्म पुग्न आधुनिक माध्यमको प्रयोग आवश्यक छ,” उनले भने।






