२५ माघ २०८२, आइतबार | Sun Feb 8 2026

Radio Khabar Palika

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक



माघ २५, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीले जनमुखी, समाजवादी र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र प्रस्तुत गरेको हो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पार्टीको तर्फबाट उम्मेदवार रविन कुमार राईले धनकुटा ऐतिहासिक रूपमा श्रम, संघर्ष र परिवर्तनको भूमि भएको उल्लेख गर्दै अबको निर्वाचन दलाल पुँजीवाद र विभेदकारी व्यवस्थाको अन्त्यका लागि निर्णायक हुने बताएका छन्। प्रतिबद्धता पत्रमा किसान, मजदुर, युवा, महिला तथा उत्पीडित वर्गको पक्षमा स्पष्ट नीति तथा कार्यक्रम समेटिएको उनले बताए । वैज्ञानिक कृषि प्रणालीको विकास, किसानमुखी उत्पादन प्रणाली, आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण, युवा रोजगारी र उत्पादन अभियान, शिक्षा तथा स्वास्थ्यको निःशुल्क र गुणस्तरीय पहुँच जस्ता विषयलाई प्राथमिकता दिइएको उनको भनाई छ । त्यस्तै सडक, यातायात, सिँचाइ तथा खानेपानीको दिगो व्यवस्थापन, राष्ट्रिय स्वाधीनता र स्थानीय स्वामित्वको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। पार्टीले दलाल पुँजीवाद, साम्राज्यवाद र विभेदकारी संरचनाको विरोध गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि जनताको साथ आवश्यक रहेको जनाएको छ। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला सचिव विसाल सीले यो प्रतिबद्धता पत्र केवल घोषणा नभई कार्यान्वयनको मार्गचित्र भएको दाबी गरेका छन्। उनले धनकुटामा कम्युनिष्ट पार्टीको एउटै उम्मेदवार उठाउने अभियानमा आफूहरु लागेको तर विविध कारणलले सफल नभएपछि
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले रविन कुमार राईलाई उम्मेदवारको रुपमा अघि सारेको जानकारी दिए । पाटीले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई समाजवादी रूपान्तरणको अवसरका रूपमा लिँदै जनतालाई परिवर्तनको पक्षमा उभिन आह्वान समेत गरेको छ।