
८ मंसिर ,धनकुटा । धनकुटामा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । धनकुटा, भोजपुर र संखुवासभा जिल्लालाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले स्थानीय पूर्वाधार विकास, सडक तथा पुल निर्माण र ग्रामीण क्षेत्रका पूर्वाधारसम्बन्धी समस्या समाधानमा काम गर्ने भएको छ ।
धनकुटा सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको डिभिजन कार्यालयको मंगलबार जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सातै प्रदेशमा एक–एक वटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र देशभर २१ वटा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार धनकुटामा पनि कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख हुतराज चौहानले जानकारी दिएका छन् ।उनका अनुसार सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा रहने कार्यालयमा ११ जना कर्मचारीको दरबन्दी रहेको छ । कोशी प्रदेशमा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले अन्य डिभिजन कार्यालयको अनुगमन गर्नेछ । उक्त कार्यालयले प्रत्यक्ष रूपमा सुनसरी, मोरङ र उदयपुर जिल्लामा समेत काम गर्नेछ ।त्यस्तै, पूर्वाधार विकास डिभिजन धनकुटाले धनकुटा, भोजपुर र संखुवासभा, पाँचथर डिभिजनले पाँचथर, तेह्रथुम र ताप्लेजुङ, इलाम डिभिजनले इलाम र झापा तथा ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जिल्लामा काम गर्नेछ ।पूर्वाधार विकास डिभिजन कार्यालय धनकुटाले स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालयसम्म पुग्ने सडक तथा सडक पुल निर्माणलगायतका काम गर्ने अधिकार पाएको छ । यसबाट ग्रामीण क्षेत्रका सडक तथा पुल निर्माणमा सहजीकरण हुनुका साथै गाउँगाउँमा यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
कार्यालय उद्घाटनका क्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले स्थानीय तहको स्रोत र क्षमताले मात्रै समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक तथा पुलसम्बन्धी समस्या अब सम्बोधन हुने अपेक्षा व्यक्त गरेका छन् ।उनले धनकुटामा सरकारी कार्यालयका लागि भवन अभाव हुँदा निजी घर भाडामा लिएर सञ्चालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको अन्त्य र सरकारी संरचनाको उचित उपयोगका लागि जिल्ला समन्वय समितिकै भवनमा कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताएका छन् ।

