
६ असोज,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले छापा माध्यमको लोककल्याणकारी विज्ञापनको भुक्तानीसम्बन्धी विवाद समाधान नभएसम्म जिल्ला हुलाक कार्यालय धनकुटामार्फत विज्ञापनको बिल नबुझ्न आग्रह गरेको छ ।
महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको नेतृत्वमा मंगलबार जिल्ला हुलाक कार्यालय धनकुटामा ज्ञापनपत्र बुझाउँदै महासंघले ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ खारेज गर्न माग गरेको हो । ज्ञापनपत्रमा नयाँ कार्यविधिमार्फत छापा माध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनवापतको मासिक रकममा आधा कटौती गर्ने व्यवस्था गरिएको भन्दै आपत्ति जनाइएको छ । महासंघले यसबाट आर्थिक संकटमा रहेका छापा माध्यम थप प्रभावित हुने र श्रमजीवी पत्रकारसमेत प्रभावित हुने जनाएको छ ।
आर्थिक वर्ष २०८३।०८४ को बजेट संघीय संसदबाट पारित भइसकेको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरी लागू गर्नु सञ्चारमाध्यमप्रति सरकारको अनुदार व्यवहार भएको महासंघको भनाइ छ । महासंघले कार्यविधि फिर्ता नभएसम्म र लोककल्याणकारी विज्ञापनको भुक्तानीसम्बन्धी विवाद समाधान नभएसम्म जिल्ला हुलाक कार्यालयबाट कुनै पनि छापा माध्यमको लोककल्याणकारी विज्ञापनवापतको बिल नबुझ्न आग्रह गरेको छ । महासंघले आफ्नो आग्रहलाई बेवास्ता गरी बिल बुझ्ने कार्य जारी राखिएमा असोज ७ गतेदेखि जिल्ला हुलाक कार्यालय धनकुटामा तालाबन्दी लगायतका थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सूचनाको हक सुनिश्चितता तथा छापा माध्यमको व्यावसायिक निरन्तरताका लागि राज्यले विशेष राहत र प्रोत्साहनको नीति लिनुपर्ने माग गरेको छ । ज्ञापनपत्र विज्ञापन बोर्ड काठमाडौं, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र जिल्ला प्रशासन कार्यालय धनकुटालाई समेत बोधार्थ पठाइएको छ ।


