
२ असोज, धनकुटा । धनकुटामा अनिवार्य तथा निःशुल्क शिक्षा अधिकारको अवस्था विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाको आयोजनामा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, प्रणालीगत साझेदारी र सक्षमता’ भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न भएको हो ।

इकाइको सभाहलमा आयोजित वक्तृत्वकला प्रतियोगितामा १५ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा बुधुक मावी मौनाबुधुक की सजिना राई प्रथम, जनता माध्यमिक विद्यालयकी प्रमिशा खड्का द्वितीय र भानु माध्यमिक विद्यालय, डाँडाबजारकी स्नेह राई तृतीय भएका छन् । उनीहरूले क्रमशः ६ हजार, ५ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी, २०८२ सालको एसईईमा उत्कृष्ट जीपीए प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको छ । गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका छात्र सुधिर ढुंगेल र छात्रा प्रतिभा सुवेदी तथा जनता माध्यमिक विद्यालय जितपुरको प्राविधिक धारतर्फका होमनाथ नेपाल र विद्या लुंगेली मगरलाई सम्मान गरिएको हो ।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयतर्फ गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय जितपुर, तुलसी मेयर मेमोरियल इङ्लिस बोर्डिङ स्कुल र तमोर भ्याली सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल सम्मानित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख इन्दिरा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय कोशी प्रदेशका धनकुटाका निमित्त निर्देशक सूर्यराज घिमिरे , नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायत शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको इकाईका प्राविधिक सहायक मोहन ढुंगनाले जानकारी दिए ।


