
१८ भदौ,धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपैयाँ सहयोग गर्ने भएको छ।
नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपद्ब प्रभावित नागरिकको तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ उपलब्ध गराइनेछ। नगरप्रमुख ध्रुवराज रायका अनुसार नगरपालिकाका जनप्रतिनिधिको १० दिनबराबरको सेवा–सुविधाबाट दुई लाख २२ हजार ३३० रुपैयाँ सहयोग गरिनेछ।
त्यस्तै, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट छ लाख ९१ हजार ५२५ रुपैयाँ तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट २७ लाख ३४ हजार ३६४ रुपैयाँ सहयोग संकलन गरिने भएको छ।
यी सबै रकम गरी कुल ४१ लाख ४८ हजार २२९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरप्रमुख रायले जानकारी दिए। विपद्को विषम परिस्थितिमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको महालक्ष्मी नगरपालिकाले जनाएको छ।

