७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

Radio Khabar Palika

रामबहादुर राया उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्षमा निर्वाचित



७ भदौ,धनकुटा । उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनबाट रामबहादुर राया अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रायाले २०९ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार कृष्णराज श्रेष्ठले १६६ मत प्राप्त गरे।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षबाहेक अधिकांश पदमा रायाको प्यानलका उम्मेदवार विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा भने श्रेष्ठ प्यानलका विक्रम प्रधान २०२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अम्बिका देवी धमलाले १७१ मत प्राप्त गरिन्।
उपाध्यक्ष पदमा रिदम श्रेष्ठ २५७ मत, सरस्वती मगर २६९ मत र महिला उपाध्यक्षमा रेजिना पलिखे २३१ मत प्राप्त गरी निर्वाचित भएका छन्। उपाध्यक्षका प्रतिस्पर्धी नगेन्द्रप्रसाद काफ्लेले १३१, सुनिता पौडेलले ४९ र निर्मला राई श्रेष्ठले १३३ मत प्राप्त गरेका छन्। यस्तै, सचिव पदमा उर्गेन शाक्य २७१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी महेन्द्र थापाले ९२ मत प्राप्त गरे। कोषाध्यक्षमा रुपेश श्रेष्ठ २४४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी प्रविन पोख्रेलले ११६ मत प्राप्त गरे। सदस्यतर्फ निरोज श्रेष्ठ २७४, देवेन्द्र प्रधान २६५, मुनादेवी पोखरेल २३४, शिशिर श्रेष्ठ २४४ र शिवपुजन शाह २१९ मत प्राप्त गरी निर्वाचित भएका छन्। सदस्य पदका प्रतिस्पर्धी गोविन्द दाहालले ११३, देवबहादुर विश्वकर्माले ८०, सागर तामाङले ११५ र शोभा श्रेष्ठले ११९ मत प्राप्त गरेका छन्। अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उद्योग वाणिज्य संघ धनकुटाको नयाँ नेतृत्व चयन भएको छ। नवनिर्वाचित नेतृत्वबाट जिल्लाका व्यवसायीका समस्या समाधान, व्यवसाय प्रवर्द्धन, लगानीको वातावरण निर्माण तथा निजी क्षेत्रको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।नवनिर्वाचित नेतृत्वले जिल्लाको आर्थिक तथा व्यावसायिक गतिविधिलाई चलायमान बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने चुनौतीसमेत पाएको छ।