
४ भदौ,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको भदौ ६ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रामबहादुर राया (श्रीराम) नेतृत्वको प्यानलले व्यवसायीको हकहित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा संघलाई सबल र समावेशी बनाउने प्रतिबद्धतासहित आफ्ना योजना सार्वजनिक गरेको छ।
राया नेतृत्वको प्यानलले आज धनकुटामा पत्रकार सम्मेलनको आयोजना गर्दै धनकुटाको समग्र आर्थिक विकासका लागि साना तथा ठूला व्यवसायीलाई समेट्दै संघलाई प्रभावकारी व्यवसायिक संस्थाका रूपमा विकास गर्ने जनाएको छ। प्यानलले स्थानीय सरकारसँग प्रत्यक्ष सहकार्य गरी उद्यमी तथा व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।यस्तै, विदेश तथा देशका विभिन्न स्थानमा रहेका धनकुटेलीहरूसँग हातेमालो गर्दै धनकुटाको कृषि, पर्यटन र उद्योग क्षेत्रमा बाह्य लगानी भित्र्याउन ‘अन्तर्राष्ट्रिय धनकुटेली लगानी मञ्च’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
बजारको मन्दीलाई ध्यानमा राख्दै घरभाडा समायोजनका लागि मध्यस्थता गर्ने तथा स्थानीय व्यवसाय कर र घरबहाल करमा छुट एवं पुनरावलोकनका लागि स्थानीय सरकारसँग जोडदार पहल गर्ने प्रतिबद्धता रायाले व्यक्त गरेका छन । व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा कायम गर्न साप्ताहिक हटिया तथा गाडीबाट गरिने खुद्रा बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्ने योजना अघि सारिएको छ। यसबाट स्थानीय स्थायी व्यवसायीको हित संरक्षण हुने प्यानलको दाबी छ।
प्यानलले व्यवसायीका लागि कर, अन्तःशुल्क, नापतौल, खाद्य स्वच्छता तथा व्यवसायिक कानुनी प्रक्रियाबारे अभिमुखीकरणसँगै एकीकृत परामर्श सेवा सञ्चालन गर्ने जनाएको छ। साना तथा मझौला उद्यमीलाई लक्षित गरी सहुलियत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, कृषि तथा पर्यटन क्षेत्रमा अनुभव हासिल गरेका सफल स्थानीय उद्यमी तथा अभियन्तालाई समेटेर उपसमिति गठन गर्ने र कृषि तथा पर्यटनलाई स्थानीयस्तरमै व्यवसायिक बनाउने योजना पनि सार्वजनिक गरिएको छ। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य गैरसरकारी संस्थासँग समन्वय गरी विभिन्न सेवामूलक तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ। संघको तल्लो कोप्चेमा रहेको पुरानो कार्यालयलाई स्तरोन्नति गरी भौतिक पूर्वाधार सुधार गर्ने योजना पनि समेटिएको छ।

सदस्यता र व्यवसायिक पहुँच विस्तारमा जोड
राया प्यानलले हरेक वर्ष व्यवसायीको पसल–पसलमै पुगेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउने जनाएको छ। साथै अन्तःशुल्क, नापतौल नवीकरण, खाद्य इजाजत, कर चुक्ता प्रमाणपत्र तथा आय विवरणजस्ता व्यवसायिक कागजात नवीकरणका लागि संघमार्फत सहजीकरण गर्ने योजना अघि सारिएको छ।
होटल, लज, कृषि उपज, खाद्यान्न, मासु, सुनचाँदी, घरेलु तथा लघु उद्योगलगायत सबै क्षेत्रलाई समेटेर वस्तुगत सदस्यता वृद्धि गर्ने र संघमा सबै क्षेत्रको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता प्यानलको छ। जिल्लाभित्रका होटल, पर्यटन क्षेत्र, कृषि उत्पादन तथा घरेलु र लघु उद्योगको उत्पादन क्षमताको एकीकृत अभिलेख तयार गरी व्यवसायिक योजना निर्माण गर्ने प्रस्ताव पनि अघि सारिएको छ।

पर्यटन र स्थानीय उत्पादनको बजारीकरण
पर्यटन व्यवसायमा आबद्ध व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन अभियानमा जोड्ने र स्थानीय घरेलु तथा कृषि उत्पादनको बजारीकरणका लागि विशेष पहल गर्ने योजना प्यानलले सार्वजनिक गरेको छ। धनकुटाको कृषि तथा पर्यटनलाई व्यवसायिक रूपान्तरण गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्यमीको क्षमता अभिवृद्धि गर्ने र नयाँ व्यवसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसैगरी, धनकुटाका प्रत्येक पालिकामा संघको शाखा विस्तार गरी तल्लो तहसम्मका व्यवसायीलाई संघको सेवा र पहुँचमा ल्याउने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।
राया प्यानलले आफ्नो घोषणापत्रमा “सबल नेतृत्व, सुरक्षित व्यापार ः सम्मानित उद्यमी, स्वाभिमानको आधार” भन्ने नारासहित धनकुटाको आर्थिक विकास र व्यवसायीको अधिकार संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।
प्यानलले धनकुटाका व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै आगामी कार्यकालमा प्रस्तुत प्रतिबद्धता कार्यान्वयन गर्ने दाबी गरेको छ। साथै अध्यक्ष पदका उम्मेदवार राया तथा उनको प्यानललाई अत्यधिक बहुमतले विजयी गराउन व्यवसायीहरूसँग अपिल समेत गरेको छ ।

