
१ भदौ, विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी -नेकपा- सहभागी भएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनसँगै नेकपाबाट सहभागी चार मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने नेकपा एमालेका दुई मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ।
पुनर्गठनअनुसार नेकपाका गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालय र जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, एमालेबाट यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
यता एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रहेका विदुरकुमार लिङ्देन र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक भने आफ्नै जिम्मेवारीमा निरन्तर रहने भएका छन्।
नेकपा सरकारमा सहभागी भएसँगै सत्ता साझेदारीअनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको हो। पुनर्गठनसँगै कोशी प्रदेश सरकारमा एमाले र नेकपाबीचको नयाँ सत्ता समीकरण कार्यान्वयनमा आएको छ।
