१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

Radio Khabar Palika

नागरिकभन्दा पूर्व प्रहरी जिम्मेवार बन्नुपर्छ ः पूर्व प्रहरी



१ भदौ,धनकुटा । पूर्व प्रहरीहरू अन्य नागरिकभन्दा अझ बढी जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।
नेपाल पूर्व प्रहरी संगठन धनकुटाले आफ्नो ३६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले पूर्व प्रहरीले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न निरन्तर भूमिका खेल्नुपर्ने बताएका हुन्। उनीहरूले देशको अहित हुने कुनै पनि गतिविधिमा पूर्व प्रहरी संलग्न हुन नहुनेमा समेत जोड दिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले पूर्व प्रहरीले देश र समाजप्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता रहेको बताए।
नेपाल पूर्व प्रहरी संगठन धनकुटाका अध्यक्ष डम्बर कटुवालले संगठनले अहिले पनि ‘विनावर्दीको प्रहरी’का रूपमा काम गरिरहेको बताए । विभिन्न आन्दोलन तथा संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई सूचना उपलब्ध गराउनेलगायतका कार्यमा संगठनले सहयोग गर्दै आएको उनको भनाइ थियो। हाल नेपाल पूर्व प्रहरी संगठन धनकुटामा ६५ जना आजीवन सदस्य र २५ जना साधारण सदस्य रहेका छन्। संगठनले आफ्ना सदस्य तथा सदस्यका परिवारलाई आवश्यकताअनुसार विभिन्न प्रकारका सहयोगसमेत गर्दै आएको जनाएको छ।