
१ भदौ, धनकुटा । नाग पञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। धनकुटासहित तेह्रथुम, भोजपुरलगायत विभिन्न जिल्लाबाट आएका ८ हजारभन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
नाग पञ्चमीका दिन बक्रकुण्ड मन्दिरमा विशेष मेला तथा पूजाआजा हुने गरेको छ। नागदेवताको बसोबास रहेको विश्वास गरिने यस मन्दिरमा नाग पञ्चमीका दिन पूजाआजा तथा दर्शन गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको स्थानीय कृष्ण घिमिरेले जानकारी दिए। मन्दिरमा नागदेवतासहित एक सय ८ देवीदेवताको वास रहेको विश्वास गरिन्छ। मन्दिर आसपासका पत्थरमा नागसहित विभिन्न देवीदेवताका आकृति देखिने गरेको स्थानीय बताउँछन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले मन्दिरको १६औँ स्थापना दिवस तथा नाग पञ्चमीको अवसरमा विशेष पूजाआजा तथा धार्मिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार वि.सं २०६७ सालमा नाग पञ्चमीकै दिन सो स्थानका पत्थरमा नागदेवताको आकृति देखिएपछि मन्दिर स्थापना गरिएको हो।
नाग पञ्चमीबाहेक शिवरात्रिका अवसरमा पनि बक्रकुण्ड मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ। पछिल्लो समय मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ।कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिर हिलेको धार्मिक महत्व बोकेको स्थल मात्र नभई महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत रहेको बताए। उनले नगरपालिकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक विकास तथा प्रवर्द्धनका काम गर्दै आएको जानकारी दिए ।
