
२४,साउन,धनकुटा । नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल महिला संघको ७९औँ स्थापना दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
नेपाल महिला संघ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा धनकुटाको चुवाको बोट पार्कमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति दिनेश राई , सचिव विजय सन्तोषी राई ,संघका अध्यक्ष लीला सुब्बा ,पदाधिकारी तथा सदस्यहरू, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा महिला अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल महिला संघको स्थापना, महिला अधिकार प्राप्तिका लागि भएका संघर्ष तथा लोकतान्त्रिक आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदानको स्मरण गरिएको थियो।
नेपाल महिला संघको स्थापना २००४ साल साउन २४ गते महिला नेतृ मंगलादेवी सिंहको नेतृत्वमा भएको थियो। राणा शासनविरुद्धको आन्दोलनसँगै महिलाको राजनीतिक सहभागिता, अधिकार र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापना भएको संघले विभिन्न लोकतान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गर्दै आएको छ।
स्थापना दिवसका अवसरमा आयोजित दीप प्रज्वलनले महिला अधिकार, लोकतन्त्र, समानता र सामाजिक न्यायका लागि भएका संघर्ष तथा उपलब्धिलाई स्मरण गर्दै आगामी दिनमा पनि महिलाको राजनीतिक तथा सामाजिक नेतृत्वलाई थप सशक्त बनाउनुपर्ने सन्देश दिएको संघकी धनकुटा अध्यक्ष लिला सुब्बाले जानकारि दिईन ।
