
२४ साउन, धनकुटा । धनकुटा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरेको छ।
शनिबार गरिएको संयुक्त अनुगमनका क्रममा धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलर तथा बिक्री केन्द्रको अवस्थाबारे जानकारी लिइएको हो। अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम रहेको, कम्पनीहरूले मागअनुसार पर्याप्त ग्यास नपठाएको र अभावका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले बताए।
उनका अनुसार पछिल्लो समय ग्यासको आपूर्ति नै कम भएकाले बजारमा अभाव देखिएको हो। त्यसमाथि ग्यास अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा समस्या थपिएको उनले बताए। ‘आधा सिलिन्डर ग्यास आउने भएकाले पटक–पटक आपूर्ति हुँदा केही सहज हुने गरेको छ,’ न्यौपानेले भने, ‘तर पूर्ण क्षमतामा ग्यास आउँदा आपूर्ति ढिलो हुने भएकाले बजारमा थप समस्या देखिएको छ।’ अनुगमन टोलीले ग्यास डिलरहरूलाई उपभोक्ताको आवश्यकताभन्दा बढी सिलिन्डर बिक्री नगर्न तथा ग्यास आएको अवस्थामा प्रशासनलाई जानकारी गराई प्राप्त परिमाणको विवरण रेकर्डमा राख्न निर्देशन दिएको छ। साथै, उपलब्ध ग्यासलाई समानुपातिक रूपमा वितरण गर्नसमेत आग्रह गरिएको छ।
कोशी ग्यास डिलर गुठीटारका विक्रेता लेखबहादुर राईले ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको बताए। यस्तै, रिजाल ग्यासका विक्रेता अधिकारी ट्रेडर्स लोकसेवा देब्रेवासका सञ्चालक होमप्रसाद अधिकारीले कम्पनीले मागअनुसार पर्याप्त ग्यास नपठाउँदा अभाव भएको बताए। कम्पनीले पठाएको सीमित परिमाणमा ग्यास ल्याएर बिक्री गरिरहेको भन्दै उनले सबै उपभोक्तालाई पुग्ने गरी आपूर्ति नहुँदा बजारमा अभाव देखिएको बताए।

अनुगमनका क्रममा ग्यास डिलरबाट मात्रै ग्यास बिक्री–वितरण गर्नसमेत निर्देशन दिइएको छ। एउटा परिवारलाई एकपटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउन डिलरहरूलाई आग्रह गरिएको प्रशासनले जनाएको छ। डिलरबाट सहज रूपमा ग्यास उपलब्ध हुन नसकेपछि उपभोक्ताहरू किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको गुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको प्रशासनको भनाइ छ। अनुगमन टोलीले ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न र वितरण प्रणालीलाई व्यवस्थित बनाउन विक्रेताहरूलाई निर्देशन दिएको छ। अनुगमनमा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीलगायतको सहभागिता थियो।
